साउनमा हरियो चुरा र मेहेन्दी लगाउनुको पछाडि यस्तो छ कारण

विहीबार, ०३ साउन २०७५, १४ : ३२
साउनमा हरियो चुरा र मेहेन्दी लगाउनुको पछाडि यस्तो छ कारण

चितवन । साउन महिनामा भगवान शिवको पूजा आराधना र बर्त बस्ने परम्परा छ । यो एउटा धर्म र संस्कृतीका लागि पवित्र महिना हो । महिलाहरु शुद्ध साकाहारी खाना खाने अथवा यो महिनाको सोमवार ब्रत बस्ने गर्दछन् ।

पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ । त्यसैले पनि महिलाहरुले यसलाई बढी महत्वको साथ धार्मिक र सांस्कृतिक रुपमा यो महिनालाई बढी महत्व दिएको पाइन्छ ।
साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ ।

हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन स्थापित हुंदै गएको छ ।
रंगीचंगी चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । हाम्रा आमा हजुरआमाहरुले पहिले पहिले मेहन्दीको ठाउँमा तिउरे लगाउने गर्नुहुन्थ्यो ।

त्यतिबेला अहिले जस्तो बुट्टा भने भरीदैनथ्यो । असारको अन्तिम रात हातमा तिउरे लगाएर रातभरी राख्ने र साउनको १ गते विहान धुने चलन थियो । अहिले मेहन्दीले त्यो ठाउं लिएको छ ।

हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाहरुले यही विश्वासमा मेहन्दी लगाएका होइनन् । यो एउटा फेसनका रुपमा विस्तार हुदैछ ।

साउन महिना हरियाली प्रकृतिको महिना भनेर चिनिने गरिन्छ । हिन्दु धर्म शास्त्रमा त साउन महिना महिलाहरुको शक्तीको महिना भनेर ब्याख्या गरीएको छ । साउन महिनाको हरियो रंगलाई उर्बर शक्तिका रुपम मानिने गरेको छ । साउन महिनामा भएको प्रकृति परिवर्तनले हामी मानिसहरुको हर्मोन नै परिवर्तन गरिदिने गर्दछ जसको प्रभाब आफ्नो शरीर अथवा मनमा परेको हुन्छ ।

ज्योतिस शास्त्र अनुसार साउनमा हरियो रंग बुधबाट प्रभावित हुने गर्छ । त्यसैले बुधबाट प्रभावित हुने हरियो चुराले हाम्रो भावना नियन्त्रण गर्ने काम गर्छ साउन महिनाको महत्व यती मा मात्र सिमित छैन । साउने सक्रान्तिमा लुतो फाल्ने, खिर खाने चलन छ । यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ ।

वर्षा याम सुरु भएपछि रोपाई गर्दा पानीमा खेल्ने भएकाले पानीजन्य रोग लाग्ने गर्छ । त्यस्तो पानीजन्य रोगबाट मुक्ति मिलोस् भनेर साउने सक्रान्तिमा विभिन्न औषधिजन्य जडीबुटी आगोमा बालेर अगुल्टो बनाई घर वरपर पाल्ने चलन छ । जसलाई लुतो फाल्ने भनिन्छ ।

श्रृंगारका सामग्री बेच्ने ब्यापारीहरुका लागि साउन महिना देखी ब्यापार सुरु हुन्छ । साउनमा चुरापोते लगायत श्रृंगारका सामग्री किन्ने महिलाहरुको पसलमा ठुलो भिड देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस