बोडेमा जिब्रो छेड्ने जात्रा, २७ वर्षे युवाले जिब्रो छेडेर परम्परा धाने

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, १८ : ५४
बोडेमा जिब्रो छेड्ने जात्रा, २७ वर्षे युवाले जिब्रो छेडेर परम्परा धाने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका– ८, बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइएको छ ।

यस वर्षको जात्रामा स्थानीय २७ युवा सुजन बागश्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका हुन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो ।

यसअघि, सुजका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आएका थिए । तर यस पटकबाट भने सुजनले जिब्रो छेडेर नयाँ पुस्तामा परम्पराको शुरुवात गरेका छन् । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ ।

जिब्रो छेडाएपछि चन्द्राकारको भ्वाय अर्थात् महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुन्छ । दैवीक शक्तिलाई आधार मानेर प्राचिनकालदेखि नै मनाइँदै आएको बोडेको यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

प्रतिक्रिया दिनुहोस