नेपालसम्मको जलमार्ग भारतले बनाइदिने

पत्रपत्रिकाबाट

सोमबार, ३२ असार २०७५, ०८ : ३०
नेपालसम्मको जलमार्ग भारतले बनाइदिने

भारतले आफ्नै लगानीमा स्थलगत जलमार्ग नेपालसम्म जोडिदिने भएको छ । ‘नेपाल–भारत स्थलगत जलमार्ग’ निर्माणका विषयमा छलफल गर्न आएको भारतीय टोलीले नेपालसम्म नै जलमार्ग निर्माण गर्ने योजनाबारे नेपाली पक्षलाई जानकारी गराएको हो ।
भारतको स्थलगत जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रबिर पाण्डेको नेतृत्वमा आएको भारतीय टोलीले बिहारको पटनासम्म निर्माण सम्पन्न भइसकेको जलमार्गलाई नेपालसम्म जोड्ने आफूहरूको योजना रहेको जल तथा ऊर्जा आयोगका सहसचिव तथा इनल्यान्ड वाटर वे अध्ययन समितिका संयोजक माधव बेल्वासेले बताए ।

‘भारतीय टोलीले पटनादेखि नेपालको गण्डक ब्यारेज क्षेत्रसम्म नै जलमार्गको विकास गर्ने योजना रहेको जनाएको छ,’ उनले भने, ‘पटनासम्म जलमार्ग विकास सकिएको छ जुन छिटै सञ्चालनमा आउनेछन्, त्यहाँबाट नेपालसम्मै विकास गर्ने योजना रहेको उनीहरूले सुनाए ।’

काठमाडौंमा जारी दुईपक्षीय छलफल सोमबार सकिनेछ । ‘सोमबार दुई पक्षबीच नेपाल–भारत जलमार्ग सञ्चालनका लागि कुन रुटमा सञ्चालन गर्ने ? कसरी सञ्चालनमा ल्याउने ? मोडालिटी कस्तो हुने भन्नेलगायत विषयमा छलफल हुनेछ,’ उनले भने, ‘त्यसपछि एउटा निष्कर्ष निकालेर हामी अघि बढ्नेछौँ ।’

गण्डक पहिलो प्राथकितामा
भारतको गंगादेखि नेपालको नारायणी नदीमा जलमार्ग निर्माणका लागि बढी सम्भाव्यता देखिएको छ । कोसीको तुलनामा नारायणीमा पानीको गहिराइ बढी र बालुवाको मात्रा कम देखिएकाले नारायणीसम्म जलमार्ग निर्माण बढी उपयुक्त देखिएको उनले बताए । ‘भारतीयसँगको छलफलले कोसीमा भन्दा पहिला गण्डकमा जलमार्ग निर्माण सम्भावना देखियो,’ उनले भने, ‘अब हामी सोहीअनुसार अघि बढ्नेछौँ ।’ नेपाल–भारत जलमार्ग निर्माणका लागि पटनादेखि गण्डकसम्म करिब २ सय ७५ किलोमिटर जलमार्ग विकास गर्नुपर्ने हुन्छ । नेपाल–भारत जलमार्ग निर्माणका लागि के–कति लगानी लाग्ने भन्ने अहिल्यै यकिन भएको छैन । स्थलगत अध्ययनपछि मात्रै के–कति लगानी लाग्ने भन्ने थाहा हुनेछ ।

९ सदस्यीय भारतीय टोली
नेपाल–भारत जलमार्ग निर्माणको विषयमा प्राविधिक छलफल गर्न आएको प्रतिनिधिमण्डमा प्राधिकरणका चारजना, भारतीय राजदूतावासका तीनजना, कोसी ब्यारेजका एकजना र अन्य गरी नौजना रहेका छन् । नेपालका तर्फबाट सहसचिव बेल्वासेका साथमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि रहेका छन् । सोमबारसम्म चल्ने छलफलले अन्तरदेशीय जलमार्ग निर्माणको आगामी बाटो तय गर्नेछ ।

नेपाली टोली भारत जाँदै
नेपालमा पानीजहाज सञ्चालनको अध्ययन गर्न बनेको इनल्यान्ड वाटर वे अध्ययन समितिका प्रतिनिधि जलमार्गसम्बन्धी अध्ययनका लागि भारत जाने भएका छन् । नेपाल आएका भारतीय प्रनितिधिसँगको छलफलपछि आन्तरिक तयारी गरेर अगस्टको दोस्रो सातासम्ममा भारत जाने योजना बनाएको उनले बताए । नेपाली टोलीले भारत भ्रमण गरेलगत्तै भारतीय प्राविधिक टोली नेपाल आउनेछ । त्यसपछि जलमार्ग निर्माणको स्थलगत अध्ययन हुनेछ ।

जलमार्ग सम्भव
भारतीय पक्षसँगको छलफलपछि नेपालसम्म जलमार्ग निर्माण तथा सञ्चालन सम्भव देखिएको नेपाली पक्षको ठहर छ । ‘भारतीयहरूको अनुभव, उनीहरूले गरेको अध्ययनले नेपालमा पनि जलमार्ग निर्माण तथा सञ्चालन सम्भव देखिएको छ,’ जल तथा ऊर्जा आयोगका सहसचिव तथा इनल्यान्ड वाटर वे अध्ययन समितिका संयोजक माधव बेल्वासेले भने, ‘अन्तरदेशीय जलमार्ग निर्माणमा भारतले प्राविधिक तथा अन्य रूपमा सघाउने जनाएसँगै अझ उत्साह थपिएको छ ।’ -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस