काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ। मतदान हुने दिनभन्दा ४८ घण्टाअगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ।
उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ। साथै उम्मेदवारका पक्ष वा विपक्षमा कुनै पनि प्रकारका प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जितरहारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले जनाएको छ।
निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार छन्। प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना
कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता : उपराष्ट्रपति यादव
आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव
अमेरिकी उपराष्ट्रपति वान्सको सम्बोधनपछि किन छायो सन्नाटा ?
सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव