११ जनाको शंकास्पद मृत्युः पोष्टमार्टममा खुल्यो सनसनीपूर्ण रहस्य, यस्तो थियो मृत्युको कारण

एजेन्सी

मंगलबार, १९ असार २०७५, १९ : १४
११ जनाको शंकास्पद मृत्युः पोष्टमार्टममा खुल्यो सनसनीपूर्ण रहस्य, यस्तो थियो मृत्युको कारण

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा भएको एकै परिवारका ११ जनाको मृत्यु घटनामा निकै अर्को तथ्य बाहिरिएको छ । मृतक ११ जनामध्ये ६ जनाको पोष्टमार्टम रिपोर्ट आएको छ । रिपोर्टमा निकै सनसनीपूर्ण रहस्य खुलेको छ । परिवारका सबैभन्दा कान्छा दुई सदस्यको पोष्टमार्टम रिपोर्टमा यस्तो रहस्य खुलेको हो ।

घटनामा ७७ वर्षकी नारायण देवी भाटिया र उनका दुई छोरा तथा एक छोरीको परिवार सबैको मृत्यु भएको थियो । यहाँ नारायण देवी आफ्ना छोरा भुवनेश (५०) र ललित (४५), भुवनेशकी पत्नी सविता (४८), छोरी नीतु (२५), छोराहरु मोनु (२३) र ध्रुव (१५) ललितकी पत्नी टीना (४२) र छोरा शिवम् (१५) तथा नारायणदेवीकी विधवा छोरी प्रतिभा (५७) र प्रतिभाकी छोरी प्रियंका (३३) को मृत्यु भएको थियो ।

मृत्यु भएकामध्ये पोष्टमार्टम गरिएका अन्य सदस्यको शरीरका अन्य भागमा कुनै चोट नभेटिएपनि जेठा भुवनेशका कान्छा छोरा ध्रुव र कान्छा ललितका छोरा शिवमको शरीरमा भने चोट देखिएको छ । उनीहरुको हातको नाडीमा चोट छ र यो चोटको प्रकृति हेर्दा उनीहरुको नाडीमा बलियोसँग जबरजस्ती समातिएको देखिन्छ । रिपोर्टका अनुसार यी दुई बालकलाई जबरजस्ती फाँसीको फन्दामा झुण्ड्याइएको देखिन्छ ।

घटनास्थलबाट प्राप्त तथ्यका आधारमा प्रहरीले परिवार निकै अन्धविश्वासी भएको देखिएको जनाएको छ । घटनास्थलका तथ्य तथा पोष्टमार्टम रिपोर्टको तथ्य मिलाउँदा परिवारका अन्य सदस्य अन्धविश्वासी भएपनि सबैभन्दा कान्छा दुई दाजुभाइले यो कुरामा पूरै विश्वास नगरेको र उनीहरु फाँसीमा झुण्डिन नचाहेको भए पनि आमाबाबुसहित अन्य सदस्यले उनीहरुलाई पनि जबरजस्ती फाँसीमा झुण्ड्याएर मारेको देखिएको छ ।
मृतकमध्ये प्रियंकाको यही १७ जूनका दिन बिहे पक्का भइ इंगेजमेन्ट भएको थियो । यही वर्षको डिसेम्बरमा उनको बिहे हुनेवाला थियो । बिहान ७ बजेसम्म घरको भुइँतल्लामा रहेको भुवनेशको पसल नखुलेपछि घटनाको बारेमा थाहा भएको थियो । छिमेकीले माथि गएर हेर्दा नारायण देवीको शव जमिनमा लडेको थियो । १० शव हलमा छतमा लगाइएको फलामको जालीमा डोरीमा झुण्डिएका थिए ।

शवको अवस्था निकै आश्चर्यजनक थियो । झुण्डिएका सबै शवको आँखामा पट्टी बाँधिएको थियो, मुखमा टेप टाँसिएको थियो र कानमा कपास कोचिएको थियो । प्रहरीले सामूहिक हत्याकाण्डको मुद्दा दर्ता गरी क्राइम ब्रान्चलाई अनुसन्धान सुम्पिएको थियो । तर, साँझम्मको अनुसन्धानमा घरबाट प्राप्त तथ्यहरुको आधारमा घटना सामूहिक आत्महत्याको भएको अनुमान गरिएको छ ।

घरमा प्राप्त एक रजिष्टरमा आध्यात्मिक कुराहरु लेखिएका छन् । आधा भरिइसकेको यो रजिष्टर डिसेम्बरबाट लेख्न सुरु गरिएको थियो । २६ जूनका दिन चार पेज लेखिएको छ । यसमा लेखिएको छ कि मोक्षका लागि आत्महत्या गर्ने बेला आँखा, मुख र हात बाँधिएको हुनुपर्नेछ । ३० जूनका दिन भगवानलाई भेट्न जाने कुरा पनि लेखिएको छ । रजिष्टरमा लेखिएको छ कि फोन समस्याको ठूलो कारण हो । यसलाई टाढै राख्नुपर्छ । घरमा सबै सदस्यमा ८ मोवाइल र १ ट्याब्लेट दराजमा एकै ठाउँमा राखिएका थिए ।

रजिष्टरमा सबै पानामा एउटै व्यक्तिले लेखेको अक्षरबाट प्रस्ट हुन्छ । प्रहरीका अनुसार सुरुवाती जाँचमा घटना सामूहिक हत्याकाण्डको जस्तो देखिएको छ । परिवारका नातेदारले भने यसलाई सामूहिक हत्याकाण्ड भन्दै अनुसन्धानको माग गरेका छन् । पारिवारिक सूत्रका अनुसार पिता (नारायण देवीका पति)को मृत्युपछि पूरा परिवार रातमा सँगै बसेर हनुमान चालिसा र राम चरित मानसको पाठ गर्थे ।

प्रहरी अनुसन्धानमा पत्ता लागेअनुसार ललित र उनकी पत्नी अत्यन्तै धार्मिक प्रवृत्तिका थिए । यी दुवैको हात बाँधिएका थिएनन् । प्रहरीले घरकै कुनै सदस्यले बाँकी सदस्यलाई मारेर शवको घाँटीमा फन्दा बाँधेर उनीहरुलाई पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा झुण्ड्याएको अनुमान गरेको छ । यसको पछाडि कुनै तान्त्रिक वा गुरुको भूमिका रहेको पनि आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस