कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

सफल खबर संवाददाता

विहीबार, ०७ पुस २०७९, १४ : ४३
कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

बर्दिवास । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजुलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ । सो खण्डमा आवासलगायतका थोरै निर्माण बाँकी रहेको र धेरै काम सकिएकाले भारतीय पक्षले हस्तान्तरण गर्न नेपाल सरकारलाई जानकारी गरेको रेल विभागले जनाएको छ । 

भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने कुरा सुरु गरेको विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जीनियर) अमन चित्रकारले बताए । उनले भने, “अब छिट्टै नै यो खण्ड सरकारलाई हस्तान्तरण हुनसक्छ ।” बाँकी रहेका थोरै काम भारतीय पक्षले नै गर्ने प्रवक्ता चित्रकारले जानकारी दिए । पहिले हस्तान्तरण भएपछि नै बाँकी काम गरिसकिने उनको भनाइ छ । अहिले नै निर्माण शतप्रतिशत सकिएको नभए पनि जति संरचना सकिएको छ त्यो हस्तान्तरण गर्न भारतीय पक्षले भनेको उनले बताए । उनले भने, “हाम्रो तर्फबाट निर्णय भएपछि हस्तान्तरण हुनेछ ।”

अहिले भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालनमा रहेको छ । रेलमार्ग हस्तान्तरण भएपछि महोत्तरीको बिजुलपुरासम्म नै रेल सञ्चालन गर्न सकिने प्रवक्ता चित्रकारले जानकारी दिए । अहिले नै कुर्थाबाट रेल बिजुलपुरासम्म जानसक्ने भइसकेको छ । रेल नियमितरूपमा बिजुलपुरासम्म सञ्चालन गर्न थप जनशक्ति आवश्यक हुनेछ । उनले भने, “भारत सरकारले हस्तान्तरण गरेर नेपाल रेल्वे कम्पनीले आवश्यक जनशक्तिको व्यवस्थापन गरेर रेल चलाउन सक्नेछ ।”

भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ । बिजुलपुराबाट महोत्तरीको बर्दिवाससम्मको निर्माण पनि भारतीय पक्षले नै गर्नेछ । कुर्थासम्म रेलको लाइन पुरानो नै भएकाले जग्गाको ठूलो समस्या नभए पनि बिजुलपुराबाट बर्दिवास खण्डमा जग्गा प्राप्ति गर्नुपर्ने रेल विभागले जनाएको छ । अहिले धेरै जग्गा प्राप्त भइसकेकाले निर्माणमा जान सकिने प्रवक्ता चित्रकारले जानकारी दिए । 

भारतीय पक्षले कुर्थासम्मको खण्डमा पहिले रेलमार्ग भएकै ठाउँमा पुराना सबै पूर्वाधार हटाएर नयाँ निर्माण सुरु गरेको थियो । पहिले ‘न्यारो गेज’ मा निर्माण भएकामा अहिले ‘ब्रोड गेज’ मा निर्माण भएको हो । यो रेलमार्ग निर्माणमा प्राविधिक र आर्थिक दुवै पक्ष भारतीय सहयोगमा भएको हो । हाल सञ्चालनमा रहेको रेल सेट भने नेपाल सरकारले भारतीय सरकारी कम्पनीसँग खरिद गरेको रेल विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस