मुलुकको अभिभावक बनेर काम गर्छु : पशुपतिशमशेर जबरा

सफल खबर संवाददाता

बुधबार, ०६ पुस २०७९, १६ : २२
मुलुकको अभिभावक बनेर काम गर्छु : पशुपतिशमशेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखको पदभार ग्रहण गरेका छन् । बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।

त्यसलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले सभामुखको भुमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताए । उनले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भुमिकालाई निष्पक्ष राख्ने बताए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरूबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने पनि बताए । उनले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिवद्धता जनाए । 

उनले भने– ‘सभामुखको भूमिका स्पष्ट छ । तटस्थ हुनुपर्छ । देशको भलोको लागि सबैको बीचमा समन्वयात्मक भूमिका निभाउनुपर्नेछ । सबैसँग समन्वय गरेर अघि बढ्नेछु । सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरूपलाई अघि बढाउने काम गर्नेछु । केही दिनका लागि भएपनि मुलुकको अभिभावकको रुपमा देशलाई अघि बढाउन पहल गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस