मेयर बालेन शाह र जर्मन राजदूतबीच फोहोर व्यवस्थापनबारे छलफल

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, १७ : ०१
मेयर बालेन शाह र जर्मन राजदूतबीच फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र नेपालका लागि जर्मनीका राजदूत डा. थोमास प्रिन्सबीच काठमाडौँको फोहोरमैला व्यवस्थापनबारे छलफल भएको छ।

राजदूत थोमस मेयर शाहलाई भेट्न मंगलबार शाहको कार्यकक्षमा पुगेका थिए। राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर शाहसँग जानकारी लिएका थिए।

शाहले फोहोरको दीगो व्यवस्थापन गर्न सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताए। फोहोर व्यवस्थापनको योजनाबारे जानकारी गराउँदै मेयर साहले भने, ‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन्। हामीसँग प्रस्ताव पनि धेरै छन्। तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दीगो प्रविधि हाम्रो प्राथमिकतामा छ।’

फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौँ महानगरलाई सहयोग गरेको थियो। आपसी सहयोगका विषयमा कुरा गर्दै परम्परागत संगीत शिक्षण तथा प्रवर्द्धनको लागि सहयोगको इच्छा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस