काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन् । सोमबार धनगढीस्थित आफ्नै निवासमा बोलाएर कांग्रेसका असन्तुष्ट नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूसँग भेटघाट र छलफल गरिरहेका हुन् ।
नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार प्रधानमन्त्री देउवाले अगुवा नेता, कार्यकर्तासँग कैलालीको चुनावी अवस्थाका विषयमा जानकारी लिएका थिए । प्रधानमन्त्री देउवाले नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा सशक्त रूपमा खट्न निर्देशन दिएको सचिव सुनारले जानकारी दिए । सुनारले प्रधानमन्त्री देउवा चुनावमै केन्द्रित रहेर कार्यकर्तासँग छलफलमा व्यस्त रहेको बताए ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै रहनेछन् । धनगढीमा रहँदा प्रधानमन्त्रीले चुनावी सभालाई सम्बोधन गर्ने औपचारिक कार्यक्रम भने नरहेको जनाइएको छ । प्रधानमन्त्री देउवाले बुधबार दार्चुला र बैतडीमा हुने गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, १५ : ३५
लेखकबाट थप