सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापना हुन्छ : मन्त्री कुँवर

सफल खबर संवाददाता

मंगलबार, ०१ कार्तिक २०७९, १९ : ३३
सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापना हुन्छ : मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यकासाथ सीप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडी बढाएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशमा विधमान बेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु श्रृजना गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा सप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडी बढाएको बताएका हुन् ।

उनले दक्ष जनशक्ति उत्पादन गर्नका लागि तयार पारिएको गठन आदेश मन्त्रीपरिषद्मा विचाराधिन अवस्थामा रहेको बताए । गठन आदेश पारित भएसँगै सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडि बढ्ने उनले बताए ।

उनले भने, ‘सरकारले अहिले नीति के लिएको छ भने जतिसक्दो दक्ष जनशक्ति उत्पादन गर्ने, चाहे स्वदेशमा होस्, चाहे वैदेशिक रोजगारीमा पठाउँदा होस्, हामीले दक्ष जनशक्ति उत्पादन गर्नको लागि हामीले सीप विकास प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाएका छौँ । त्यसको लागि गठन आदेश मन्त्रीपरिषद्मा अहिले विचाराधीन छ । त्यो पारित हुने बित्तिकै सातै प्रदेशमा हामीले सीप विकास प्रतिष्ठानलाई लैजानेछौँ । ताकि विदेश जाने श्रमीकहरु सीप सिकेर जाऔँ, असुरक्षित नहोउन् ।’

मन्त्री कुँवरले अनौपचारी क्षेत्र र वैदेशीक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउने अन्तिम तयारी भएको पनि जानकारी दिए । उनले अनौपचारी क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई कोषअन्तर्गत ल्याउने गरी दुईवटा कार्यविधि तयारी भइ छलफलको क्रममा रहेको र केही समय भित्रै कार्यन्वयनमा आउने बताए ।

उनले भने, ‘अहिले हामीले फेरि अनौपचारिक क्षेत्रमा रहनुभएका श्रमीकहरुलाई र विदेशमा रहनुभएका श्रमीकहरुलाई सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउनको लागि, समावेश गर्नको लागि दुई वटा कार्यविधि अघि बढाएका छौँ । एउटा कार्यदल बनाएर अनौपचारिक क्षेत्रमा कति श्रमीक हुनुहुन्छ र उहाँहरुलाई कसरी सामािजक जोड्ने भनेर छलफल गरिरहेको छौँ ।’

मन्त्री कुँवरले जर्मनसँग श्रम समझौता गर्ने तयारी अवस्थामा रहेको पनि जानकारी दिए । उनले नेपालका श्रमीकहरुले सम्मानजनक पारिश्रमिक पाउन् भन्नका लागि जर्मन, बेलायत, हंगेरी लगायतका देशसँग श्रम समझौता गर्ने तयारी गरेका बताए ।

प्रतिक्रिया दिनुहोस