बेदकोट । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिनुहुन्छ– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा ।
शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहनुभएको छ । उहाँसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन् ।
विसं २०५४ देखि खसी बोका बिक्री गर्दै घरखर्च चलाउँदै आउनु भएका डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीका मानसिंह खसी बोका बिक्री नहुँदा चिन्तित हुनुहुन्छ । “केही वर्षयता खसीबोकाको व्यापार हुन सकेको छैन, विगतका दसैँमा सजिलै खसीबोका बिक्री गरेर घरखर्च चलाउथ्यौँ”, उहाँ भन्नुहुन्छ, “हाम्रो आम्दानीको स्रोत नै खसीबोकाको व्यापार हो तर खसीबोकका बिक्री नहुँदा यस वर्ष घरखर्च चलाउनै मुस्किल होला जस्तो छ ।”
बाख्रा पालनमा लाग्ने किसान खसीबोका बेचेरै दसैँं तिहारजस्ता चाडपर्व टार्ने ध्याउन्नमा हुन्छन् तर यो वर्ष बिक्रीमा समस्या अनि बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् । दसँै तिहारको समयमा खसीबोकाको कारोबार बढी हुने भए पनि केही वर्षयता कारोबार घटेको मानसिंह बताउनुहुन्छ । “बजारको उचित व्यवस्थापन नहुँदा खसीबोका बेच्न सकस छ, कोही किन्न आइहाले पनि मोलतोल बढी गर्छन्, मोल नै पाउँदैनौँ ।” उहाँको गुनासो छ ।
दसैँ–तिहारलगायत वर्ष भरीको खर्च जुटाउन डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसी बोका बेच्न तराई झर्ने गर्दछन् । पर्शुराम नगरपालिका–८ स्थित जमरानी, कुरेनी, गत्तेगडा, सानखोलाका किसान खसी बोका बेच्न दुई दिनको बाटो हिँडेर महेन्द्रनगर पुगेका छन् ।
दसैँ खर्च जोहो गर्न मलासबाट तराई झरेका किसान यस वर्ष भने खसीबोका बिक्री नहुँदा निराश वनेका छन् । चवन्नवटा खसीबोका लिएर मलासबाट महेन्द्रनगर झर्र्नुभएका कुरेनीका गोरे धामी आउने ग्राहकलाई खसी बोका देखाइरहनुभएको छ तर मूल्य सोधेर ग्राहक खसीबोका नकिनेरै फर्किरहेका उहाँको गुनासो छ ।
“थोरै मात्र बिक्री भएका छन्, बिक्री नहुँदा त्यसै घर फर्काउने पर्ने अवस्था छ”, उहाँभन्नुहुन्छ, “कोरोना पछि खसी बोका बिक्री नै भइरहेका छैनन्, चार÷पाँच वर्ष अगाडिसम्म ल्याएका सबै खसी बोका बिक्री हुन्थ्यो, त्यसले वर्षभरिको खर्च धानेको थियो ।” गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसी बोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको अर्का किसान जीतबहादुर धामी बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १९ असोज २०७९, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लामा १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार