सरकारसँग भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना छैन : मन्त्री भुषाल

सफल खबर संवाददाता

विहीबार, १३ असोज २०७९, २१ : १८
सरकारसँग भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना छैन : मन्त्री भुषाल

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले सरकारसँग मुलुकको भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्ने गुरु योजना नभएको बताएकी छन् । बिहीबार नेपाल इन्जिनियर्स एशोसिएशन र नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम र नेपाल टेलिकम बीच जनशक्तिको विकास, आपसी सहकार्य, तालिम, क्षमता अभिवृद्धि लगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले नेपाल सरकारले अहिलेसम्म मन्त्रीपिच्छे आ–आफ्नो क्षेत्रमा बजेट योजना लैजाने गरेको दाबी गरिन् । मन्त्री भुसालले भौतिक पूर्वाधार विकासलाई आर्थिक सामाजिक विकाससँग जोड्न विज्ञहरु राखेर बृहत गुरु योजना बनाउनु आवश्यक रहेको पनि उल्लेख गरिन् । उनले अहिलेसम्म भएका भौतिक पूर्वाधार विकासले आर्थिक सामाजिक विकाससँग जोड्न नसकेको बताइन् ।

मन्त्री भुसालले अहिलेसम्म भौतिक पूर्वाधार विकास अपभ्रममार्फत भइरहेको बताइन् । उनले सरकार, राजनीतिक दलहरुले संविधान बनाउँदा राष्ट्रिय सहमति गरेजस्तै भौतिक पूर्वाधार विकासको लागि राष्ट्रिय सहमति गरी समग्र मुलुकको भौतिक पूर्वाधार तथा आर्थिक सामाजिक विकासलाई एकीकृत गरेर देशको गुरु योजना बनाउनु आवश्यक रहेको बताइन् ।

उनले विकास विज्ञहरुसहित नेपालको नक्शा राखेर पूर्व पश्चिम द्रूत मार्ग, रेल मार्ग ,अन्तर्राष्ट्रिय विमानस्थल कति बनाउने र त्यसमा राज्यको स्रोतले कति धान्छ भन्नेकुराको हेक्का राखेर गुरु योजना बनाउनुपर्ने बताइन् । मन्त्री भुसालले त्यस्ता गुरु योजनामा बस्ती विकासलाई कसरी जोड्ने भन्ने विषयमा वृहत छलफल गर्नु आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘नेपालको भौतिक पूर्वाधारको विकास कसरी गर्ने, भौतिक पूर्वाधारको विकासलाई आर्थिक सामाजिक विकाससँग कसरी जोड्ने भन्ने कुराको कुनै मास्टर प्लान छैन । सरकारमा एउटा मन्त्री आयो आफ्नो निर्वाचन क्षेत्र र आफूलाई मनलागेका क्षेत्रमा विकास लगेको छ । अर्को मन्त्री आयो उसले बजेट कता लान सकिन्छ । यसरी अपभ्रममार्फत विकास भएको अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस