गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप: मन्त्री थापा

सफल खबर संवाददाता

विहीबार, १३ असोज २०७९, १६ : ४२
गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप: मन्त्री थापा

काठमाडाैँ । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप भएको बताएका छन्।

नेपाल प्रेस युनियन कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचेअनुरूप काम हुन नसकेको समेत स्वीकार गरे।

गण्डकी सरकारले बजेटको बेला सवारी, मालपोत लगायत क्षेत्रमा गरेको कर वृद्धि निर्वाचन मिति घोषणापछि सच्याएको समेत मन्त्री थापाले बताए।मन्त्री थापाले भने, ‘संघीयतापछि पहिलो प्रदेश सरकार भएको कारण केही कमीकमजोरी भएका हुन सक्छन्। तिनलाई सुधारेर आगामी दिनमा अगाडि बढ्ने छौँ। ’

उनले प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि हालसम्म खाइपाइ आएको सेवासुविधा विकास निर्माण र सामाजिक कार्यमा खर्चिने गरेकोमा हालसम्मको रकम सार्वजनिक गरे।

विसं २०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैत्रसम्म विकास निर्माण र सामाजिक कार्यमा आफूले ५८ लाख २९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस