देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदा हुन् : मेयर साह

सफल खबर संवाददाता

बुधबार, २२ भदौ २०७९, १४ : २६
देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदा हुन् : मेयर साह

काठमाडाैँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन्। नेपालमा भएका सम्पदाहरू संरक्षण गर्न सकेमात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने उनकाे भनाइ छ।

इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौँ महानगरपालिकाले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरूको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताए।

उनले भने, ‘महानगरले इन्द्रजात्रालाई काठमाडौँ महानगरपालिकाभित्र मात्रै नभएर नेपालभर र विश्वमा समेत गरी विश्वमा नै फैल्याउने उद्देश्य रहेको छ। देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदा हुन्। नेपाल पर्यटनमा धेरै अगाडि बढ्नसक्ने देश हो। नेपालमा भएका सम्पदा संरक्षण गर्न सक्यौँ भने मात्रै पनि पर्यटन क्षेत्रको राम्रो विकास गर्न सक्छौँ। नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा र परम्परा पर्वहरू आफैँमा पूजा गर्ने मात्रै नभएर मनोरञ्जन, उत्साह र उमङ्ग, खुसीसँग पनि जोडिएको हुनाले संरक्षण गर्नुपर्छ। काठमाडौँ उपत्यकाका तीन जिल्लाका पर्वहरूको छुट्टाछुट्टै महत्त्व रहेको छ। सबैलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्छ।’

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन्।उनले यसका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरूलाई निम्तो गरिसकेको भन्दै अतिथिहरू बिहीबारबाट काठमाडौँ आउन थाल्ने जानकारी दिइन्।

इन्द्रजात्रा कोभिडको कारण केही वर्ष मनाउन सकिएको थिएन। तर यो वर्ष भने स्वदेशी तथा विदेशी पाहुनाहरूलाई समेत बोलाएर जात्रा मनाउन लागिएको महानगरले जानकारी दिएको छ।

राजधानी सहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ। काठमाडौँ उपत्यकामा बुधवारदेखि इन्द्रजात्रा विधिवत रूपमा सुरु भएको छ।

 

प्रतिक्रिया दिनुहोस