मोतीपूर औद्योगिक क्षेत्रको समस्या समाधान गर्न कार्यदल गठन

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १० : १०
मोतीपूर औद्योगिक क्षेत्रको समस्या समाधान गर्न कार्यदल गठन

बुटवल । रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको समस्या समाधानका लागि कार्यदल बनाइएको छ।

बुटवल उपमहानगरपालिकाको संयोजनमा गृहमन्त्री बालकृष्ण खाँणको आतिथ्यता र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा सरोकारवालासहित शुक्रबार बेलुका बसेको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कार्यदल बनाउने निणर्य गरेको हो।

कार्यदलमा औद्योगिक क्षेत्रका कार्यालय प्रमुख, सम्बन्धित वडाका अध्यक्ष, बुटवलस्थित मालपोत कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि, प्रदेश उद्योग मन्त्रालयका अधिकृत प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य रहेका छन्। यस्तै, कार्यदलको सदस्य सचिवमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहने र कार्यदलको कार्यालय बुटवल उपमहानगरपालिकामा रहने निणर्य भएको छ।

बैठकले मोतीपूर औद्योगिक क्षेत्रको नाममा जग्गाधनी प्रमाणपत्रमा ८१३ बिगाहा जग्गा उल्लेख भएको र सो क्षेत्रमा लामो समयदेखि व्यक्तिहरू बसोबास गरी हकभोग गरेकाले निजहरूलाई हटाइ औद्योगिक क्षेत्र सञ्चालन गर्न अप्ठ्यारो पर्ने हुँदा जग्गाको क्षेत्रफल घटाउने निणर्य गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

प्रमुख पाण्डेयका अनुसार कार्यदललाई मोतीपूर औद्योगिक क्षेत्रको के कति जग्गाको क्षेत्रफल घटाउन सकिन्छ भनी ७ दिनभित्र यथार्थ प्रतिवेदन दिने गरी अधिकार निणर्य गरेको छ।बैठकले कार्यदलले ७ दिनभित्र प्रतिवेदन पेश गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएको ३ दिन भित्र कार्यपालिकाबाट निणर्य गरी सिफारिश गर्ने निणर्य गरेको प्रमुख पाण्डेयले बताए।

जग्गाको क्षेत्रफल यकिन गरी कानुनी आधार र रायसहित प्रतिवेदन दिनुपर्ने, सम्पूर्ण प्रतिवेदनसहित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्ने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस