दोलखाबाट आठ हजारले लिए राहदानी

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १८ : ४२
दोलखाबाट आठ हजारले लिए राहदानी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाबाट वैदेशिक यात्राका लागि एक वर्षको अवधिमा आठ हजार ६३ नागरिकले राहदानी दिएका छन् । वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । 

नौ स्थानीय तह रहेको दोलखाबाट एक वर्षको अवधिमा आठ हजार ६३ थान राहदानी जिल्ला प्रशासन कार्यालय दोलखाबाट वितरण गरिएको हो । राहदानीका लागि तत्काल चाहिने नागरिकले दोब्बर शुल्कमा  दूर्त राहदानीका लागि फाराम भर्ने र एक महिनापछिका लागि चाहिनेहरूले साधारण फाराम गरी दुई तरिकाले राहदानी दिने व्यवस्था रहेको छ । 

जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार ३५ दिनभित्र लिने गरी साधारण राहदानीका लागि तीन हजार सात सय २३ जना पुरुष र दुई हजार तीन सय ६१ महिला गरी जम्मा छ हजार ८४ जनाले राहदानीका लागि फारम भरेका थिए । 

त्यस्तै एक हप्ताभित्र राहदानी दिनेले  दूर्त राहदानीका लागि एक हजार ४२ जना पुरुष र नौ सय ३७ जना महिला गरी जम्मा एक हजार नौ सय ७९ जनाले फाराम भरेका थिए । दोलखामा राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा दुई करोड ७१ लाख ३७ हजार आठ सय ४० राजस्व संकलन भएको प्रशासन कार्यालय दोलखाले जनाएको छ । 

कोरोना महामारीका कारण विभिन्न देशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपालीका लागि खुला गरेसँगै राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएको हो । 

प्रतिक्रिया दिनुहोस