अल्फाबिटाको अनधिकृत संरचना हटाएपछि मेयर साहले भने, ‘नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ’

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १९ : ०९
अल्फाबिटाको अनधिकृत संरचना हटाएपछि मेयर साहले भने, ‘नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ’

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रुपमा बनाइएको संरचना हटाएको छ । अल्फाबिटाका सञ्चालक द्विराज शर्मासँगको सवाल जवाफपछि डोजर लिएर पुगेका महानगरका मेयर बालेन साहले अवैध संरचना भत्काएका हुन् ।

अनधिकृत संरचना भत्काएपछि येसर साहले फेसबुकमा भनेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?’

यसका साथै उनले अवैध संरचना हटाउन आग्रह गर्दै भनेका छन्, ‘‘अब उप्रान्त यस्तो गर्न नपरोस् । सबैले आँफै बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ, त्यहि अनुसार बनाइ दिनु होला ।’

अल्फा हाउसको पार्किङ स्थलमा अवैध रुपमा निर्माण गरिएको बेसमेन्टको संरचना डोजर लगाएर हटाइएको हो । यसअघि त्यहाँका कर्मचारीहरुले केही समय दिन भन्दै सो संरचना हटाउन अवरोध सिर्जना गरेका थिए । तर, नगर प्रहरीले अवरोध हटाएर डोजर लगाई सो संरचना भत्काइएको हो ।

मेयर शाहले यसअघि सो भवनको नक्सा देखाउन कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग आग्रह गर्दा चर्काचर्की भएको थियो । पछि मेयर शाह आफैंले नक्सा ल्याएर पार्किङ स्थलमा बनाइएको सो संरचना हटाउन निर्देशन दिएका थिए ।

काठमाडौं महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका सबै संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यसको अवज्ञा गरेपछि मेयर शाहले आफ्नै नेतृत्वमा यस्ता संरचना हटाउने कामलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस