नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने : कुलमान घिसिङ

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १६ : ५२
नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाबारे भएको छलफलमा उनले पछिल्लो समय जलविद्युत आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताए ।घिसिङले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौं रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताए । उनले नेपालको ऊर्जाको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताए ।

जलविद्युत महँगो हुँदा जनतालाईसमेत महँगो पर्ने उनले बताए । उनले जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने बताए । बंलादेशमा विद्युत निर्यात गर्नका लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने बताए ।

घिसिङले ५० अर्बको तनहँ जलविद्युतमा करिब तीन अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा तीन अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताए । उनले सरकारकै जग्गाका लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत महँगो हुनु भएको बताए ।

प्रतिक्रिया दिनुहोस