स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुशरण गर्नुपर्ने - अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १२ : १८
स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुशरण गर्नुपर्ने - अर्थमन्त्री शर्मा

काठमाडाैँ ।अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताएका छन्।

स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन केहीबेर अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुगेका उनले नेपाली राजनीतिमा गिरि अध्ययनशील र तर्कशील नेताको रूपमा स्थापित भएका र उनको विचारलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिएका हुन्।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्वर्गीय गिरि नेपाली कांग्रेसका साथै कम्युनिष्ट पार्टीका समेत आदर्श व्यक्ति भएको बताए।‘प्रजातान्त्रिक शक्ति र बामपन्थीलाई मिलाएर लैजानुपर्छ भन्ने उहाँको भावना आत्मसात गरिएका कारण अहिले मुलुकमा लोकतन्त्र सुदृढ भएको हो’, उनले भने।

कांग्रेस नेता डा. शेखर कोइरालाले बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको बारेमा विश्लेषण गर्नसक्ने तर्कशील नेता गिरि भएको बताए।‘पार्टीभित्र र अन्य कार्यक्रममा समेत स्पष्ट कुरा राख्नसक्ने गिरिको क्षमता थियो’, उनले भने।

नेता गिरिको शव नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको छ। गिरिप्रति श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति डा. रामवरण यादव, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री बालकृष्ण खाण अहिले अस्पताल परिसरमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस