इङ्ल्यान्ड तेस्रो दिनमै एक इनिङ्स र १२ रनले पराजित

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १६ : ०७
इङ्ल्यान्ड  तेस्रो दिनमै एक इनिङ्स र १२ रनले पराजित

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्टमा घरेलु टोली इङ्ल्यान्ड तेस्रो दिनमै एक इनिङ्स र १२ रनले पराजित भएको छ । पहिलो इनिङ्समा इङ्ल्यान्ड १६१ रनले पछि परेको थियो । लर्डस् क्रिकेट मैदानमा तेस्रो दिन बिहान दोस्रो इनिङ्स थालेको इङ्ल्यान्डले १४९ रन जोड्दा सबै विकेट गुमायो । 

बेन स्टोक्स–ब्रेन्डन म्याकुलम युग सुरु भएपछि इङ्ल्यान्डको यो पहिलो हार हो । यसअघि इङ्ल्यान्डले न्युजिल्यान्डविरुद्ध तीन खेलको शृंखला क्लिन स्विप गरेको थियो भने भारतविरुद्धको एक खेल जितेको थियो । तर, कागिसो राबडा र एनरिच नोर्टजेले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि घरेलु ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । दोस्रो इनिङ्समा इङ्ल्यान्डका लागि ओपनर एलेक्स लेस र स्टुवार्ट ब्रोडले सबैभन्दा धेरै समान ३५ रन जोडे । कप्तान बेन स्टोक्सले २०, जोनी बेयरिष्टोले १८ र ज्याक क्राउलेले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नोर्टजेले तीन विकेट लिए भने राबडाले दुई विकेट लिए । केशव महाराज र मार्को जनसेनले समान दुई विकेट लिँदा लुनगी एनगिडीको नाममा एक विकेट रह्यो । 

पहिलो इनिङ्समा पनि इङ्ल्यान्डले ओली पोपले ७३, स्टोक्सले २०, ब्रोड र ज्याक लेचले समान १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । पहिलो इनिङ्समा दक्षिण अफ्रिकाका राबडाले ५२ रन दिएर ५ विकेट लिए । नोर्टजेले तीन विकेट लिए भने जनसेनले दुई विकेट लिए । 

दक्षिण अफ्रिकाका सरेल इर्वीले ७३, जनसेनले ४८, डीन इल्गरले ४७, महाराजले ४१, कीगन पिटरसनले २४, रसी भान ड्र डुसानले १९, एइडेन मारक्रमले १६ र काइल भार्रेनेले ११ रन बनाउँदा नोर्टजेले अविजित २८ रन बनाए । 

इङ्ल्यान्डका ब्रोडले ३ विकेट लिए । यससँगै उनी लर्डस् टेष्ट क्रिकेटमा १०० विकेट लिने इङ्ल्यान्डका दोस्रो खेलाडी बनेका छन् । यसअघि इङ्ल्यान्डका जेम्स एन्डरसनले यो सफलता हासिल गरेका थिए । त्यस्तै एउटै क्रिकेट मैदानमा १०० विकेट लिने सफलता श्रीलंकाका मुथैया मुरलीधरण र रंगना हेराथले पनि हासिल गरेका थिए । 

ब्रोडसँगै स्टोक्सले पनि ३ विकेट लिएका थिए । म्याथ्यु पोट्सले दुई विकेट लिए भने एन्डरसन र लेचको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस