बझाङमा वर्षेनी उद्योग थपिए, उत्पादन बढेन

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १५ : २६
बझाङमा वर्षेनी उद्योग थपिए, उत्पादन बढेन

काठमाडाैँ । गत आर्थिक वर्षसम्ममा बझाङ जिल्लामा पाँच सय भन्दा बढी उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योगका अनुसार बझाङ जिल्लामा हालसम्म ५ सय १२ उद्योग दर्ता भएको पाइएको छ । ‘घरेलु तथा साना उद्योग कार्यालय बझाङमा आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा ५ सय १२ उद्योगहरू दर्ता भएका छन् । कार्यालयमा दर्ता भएका उद्योगहरूमा सबैभन्दा बढी कृषि तथा वन्यजन्तु सम्बन्धी ३ सय ९७ फर्म दर्ता भएका छन्,’ घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको उद्योगबारे जानकारी दिँदै वरिष्ठ उद्यम विकास सहजकर्ता दशरथबहादुर जर्पेलले भने ।

जर्पेलका अनुसार आर्थिक वर्ष २०७८/७९ सम्म २ सय ७१ वाणिज्य फर्म, उद्योग तर्फ उत्पादन मूलक १३, कृषि तथा वन्यजन्तु सम्बन्धी ३ सय ९७ उद्योग दर्ता भएका छन् । त्यसै गरी निर्माण मूलक १, सेवामूलक ९४ र विज्ञान तथा सूचना प्रविधि सम्बन्धी ७ उद्योग दर्ता भएका छन् । तर, जिल्लामा हालसम्म ऊर्जा मूलक, खानीजन्य र पर्यटन सम्बन्धी उद्योग भने दर्ता नभएको जप्रेलले बताए । 

जिल्लामा दर्ता हुने उद्योगहरूको सङ्ख्या बढ्दै गइरहेको भए पनि उत्पादन र रोजगारीको क्षेत्र फराकिलो हुन भने नसकेको घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख खडकबहादुर बोहराले बताए । उनले भने ‘कार्यालयमा उद्योगको सङ्ख्या धेरै छ । तर दर्ता भएका उद्योगहरूका संचालकहरुले  काम नगर्ने र दर्ता भएका फर्महरूलाई बेवारिसे छोड्ने गरेको पाइन्छ । उद्योगहरूको सङ्ख्या बढे पनि उद्यमी हरू भने बढेका छैनन् ।’दर्ता भएका कतिपय उद्योगहरूमा सरकारी पक्षबाट अनुदान प्राप्त भइसक्दा पनि काम नभएको पाइएको छ । सरकारी सेवा, सुविधा र अनुदानका लागि उद्योगहरू दर्ता हुने गरेको कतिपयको टिप्पणी छ । घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन गर्दा कतिपय उद्योगहरूले काम नगरेको पाइएको कार्यालयका प्रमुख बोहराले बताए । 

कतिपयले उद्योग नवीकरण नगर्ने र फेरी अर्को उद्योग खोल्ने गरेको बोहराले बताए । कार्यालयमा दर्ता भएका ५ सय १२  वटा उद्योग मध्ये ८८ वटा उद्योग मात्र नवीकरण गरेर सञ्चालन भइरहेको बोहराले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस