काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको बढुवाको नतिजा सार्वजनिक गर्ने क्रममा लापरबाही देखिएको छ। शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमार्फत बढुवाका लागि अङ्क प्रदान गर्ने र नतिजा प्रकाशन गर्ने निकाय गम्भीर नहुँदा यस्तो भएको हो। जसका कारण पहिलो पटकको नतिजामा बढुवा भएका शिक्षकहरू संशोधित सूचनामा घटुवा हुनुपरेको छ।
स्थायी शिक्षकमध्ये ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा गर्ने चलन छ। यसरी बढुवा हुनका लागि शिक्षक कार्यरत विद्यालयदेखि पालिकाको शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय एकाइले अङ्क दिने प्रावधान छ। सोही अङ्कलाई प्रमाणीकरण गर्दै आयोगले नतिजा प्रकाशन गर्ने गर्छ। तर पहिलो पटक सार्वजनिक भएको नतिजामा चित्त नबुझेर पुनरवलोकनका लागि निवेदन दिएकाहरूको नतिजा संशोधन हुने क्रम बढेको छ। यस्ता घटनाबाट अङ्क प्रदान गर्नेदेखि प्रमाणीकरण गर्ने निकायसम्मकै अपरिपक्वता देखिएको छ।
हालै आयोगको गण्डकी प्रदेश कार्यालयले नतिजा पुनरवलोकन गर्दा चार जिल्लाका चार जना शिक्षक बढुवा भएका छन्। पुनरवलोकनका लागि निवेदन दिएका १० जनामध्येबाट उनीहरूको नतिजा संशोधन भएको हो। यसो हुनुमा आफूहरूको कुनै पनि भूमिका नरहेको आयोगका पदाधिकारीको दाबी छ। शिक्षकले भने आयोगको विश्वसनीयतामा नै प्रश्न चिह्न लागेको भन्दै संशोधित नतिजाप्रति असन्तुष्टि जनाएका छन्।
केही समयअघिको नतिजामा म्याग्दीका शिक्षक देवीप्रसाद शर्मा माध्यमिक तह तृतीय श्रेणीबाट द्वितीय श्रेणीमा बढुवा भएका थिए । अधिकृत सरहको तहमा पढाइरहनुभएका शर्मालाई उपसचिव सरहको तहमा बढुवा भएपछि शुभेच्छुक र आफन्तजनबाट बधाइको ओइरो लागेको थियो। तर आयोगले संशोधित नतिजा भन्दै बढुवाको सूचीबाट शर्माको नाम हटाएर अर्कैको नाम सार्वजनिक गरेपछि शर्मा मात्रै होइन बधाइ र शुभकामना दिनेहरूसमेत खिन्न हुनुपयो।
पुनरवलोकनको निवेदन नदिएका भए नतिजा नै गडबड हुने प्रष्ट देखिएको छ। आयोगले सुरुमा म्याग्दीमा सरला सुवेदी (९५ अङ्क), हरिप्रसाद सुवेदी (८८ अङ्क) र देवीप्रसाद शर्मा (८६.४५२ अङ्क) को नाम सार्वजनिक गरेको थियो। आयोगले नयाँ सूचनामा सरला सुवेदी, त्रिविक्रम सुवेदी र हरिप्रसाद सुवेदीको नाम सार्वजनिक गरेको छ। सरला र त्रिविक्रमको अङ्क उल्लेख गरिएको छैन तर हरिप्रसादको ८४ अङ्क उल्लेख छ।
बढुवाको सूचीबाट हटाइएका शिक्षक देवीप्रसादले पुनरवलोकन गर्दा बढुवा गरिएका नयाँ शिक्षकको अङ्क उल्लेख गर्नुपर्ने बताउँदै भने, “ममाथि अन्याय भएको छ। अरू पनि अन्यायमा नपरून्। किन पहिले मलाई ८६ अङ्क दिइयो र पछि किन अङ्क घटाइयो भन्ने कुरा हामीले थाहा पाउनुपर्छ। त्यसैले मूल्याङ्कनको विश्वसनीयतामाथि प्रश्न चिह्न लागेको छ।” शैक्षिक सत्र समाप्त भएको ३० दिनभित्र सम्बन्धित शिक्षकले आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाराम दर्ता गर्नुपर्ने नियम छ। सुरुमा प्रधानाध्यापक सिफारिसकर्ता रहने प्रावधान छ।
गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०४ भदौ २०७९, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ जना खेलाडीको विशेष बढुवा, सहायक हवल्दार बने सन्दीप जोरा
परराष्ट्रका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस
रघुराम विष्ट सचिवमा बढुवा
काठमाडौँ महानगरका १२ नगर प्रहरीको बढुवा
तीन सहसचिव सचिवमा बढुवा
दुई जना सहसचिव सचिवमा बढुवा