जित सुनिश्चितका लागि माओवादी केन्द्रको चुनाव चिन्ह लिँए : वामदेव गौतम

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १६ : ३५
जित सुनिश्चितका लागि माओवादी केन्द्रको चुनाव चिन्ह लिँए : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताएका छन् । मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताएका हुन् ।

उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिन्ह लिएको बताए । सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भुमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने बताए । उनले नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए ।

हँसिया हतौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेको दाबी गरे । उनले इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गरे । उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी गरे ।

उनले भने, ‘हामी गोलाकार भित्र हँसिया हतौडा चुनाव चिन्ह लिएर चुनावमा जाने भन्ने प्रचण्ड र मेरो बीचमा सहमति भयो । समझदारी बन्यो । त्यसअनुसार जाँदा कानूनी प्रक्रियाहरु के छन्, भोलि गाह्रो पर्ने हो की, सजिलो हुन्छ कि, कसरी मिल्नसक्छ भन्ने सन्दर्भमा कानून विभागका प्रमुखसँग सल्लाह गर्न आएको हुँ । माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर गएपनि म स्वतन्त्र हो, त्यसरी मैले भुमिका निर्वाह गर्छु सदनमा । प्रत्यक्षमा उम्मेदवार दिनुभन्दा पहिले मैले राष्ट्रिय सभा सदस्यको पद छोड्नुपर्छ । छोडेर राजीनामा स्वीकृत भएको व्यक्ति भएर आफैँ प्रमाण बनेर उम्मेदवार दिन जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस