दुई–तीन महिनामै नेपाली टोलीको ब्याटिङमा सुधार हुन्छ : प्रशिक्षक प्रभाकर

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १९ : ५२
दुई–तीन महिनामै नेपाली टोलीको ब्याटिङमा सुधार हुन्छ : प्रशिक्षक प्रभाकर

काठमाडौं । नव नियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले २/३ महिना भित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेरका छन् । मुख्य प्रशिक्षक प्रभाकरले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २÷३ महिनामा नै सुधार गर्ने बताएका हुन् ।

उनी नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिबार नेपाल आइपुगेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभावकरले पहिलो दिन आइतबार कीर्तिपुरस्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरुमा भएको कमी कमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गरे ।

प्रभाकरले नेपाली खेलाडीले आईपीएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताए । विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरै भन्दा धेरै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताए ।

नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएपनि धेरै जसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरणहरु छन् । तर पछिल्लो समय टोलीभित्र नै विवाद भइरहेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई एक ढिक्का बनाएर अगाडि बढाउनु पर्ने चुनौती छ । खेलाडीबीच गुट÷उपगुट पनि टोलीको अर्को समस्या रहेको छ ।

यस्तै अवस्थामा कसरी अगाडी बढाउनु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रशिक्षक प्रभाकारले कुनैपनि परिवारभित्र समूह भएको अवस्थामा परिवारलाई सफलता नमिल्ने भन्दै र परिवार भित्रको पीडा सबैको पीडा हुने र समाधान गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए । यस्तो समस्या सबैतिर हुने गरेको र यसलाई समाधान गर्न जिम्मेवारी दिएको अवस्थामा समस्या सुल्झिने बताए ।
अहिलेको अवस्थामा नेपाली टोलीभित्र युवा खेलाडीको बाहुल्यता छ ।

खेलाडीको औसत आयु २२ वर्ष भएको भन्दै उनीहरुका लागि सिकाई महत्वपूर्ण हुने प्रशिक्षको बुझाई छ । यस्तै उमेर समूहले छिटो सिक्ने र प्ररिणाम पनि चाँडै देखाउने विश्वास प्रशिक्षक प्रभाकर व्यक्त गरे । प्रशिक्षक प्रभाकार क्यानेडियन प्रशिक्षक पुबुदु दाशानायकेको राजीनामापछि नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस