प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति

घोषणापत्र पनि माओवादीकै

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १४ : १६
प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति

काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाल समाजवादी पार्टी सत्ता साझेदार नेकपा माओवादी केन्द्रकै चुनाव चिह्न र साझा घोषणा पत्रबाट लड्ने निश्चित भएको छ ।

आइतवार बिहान खुमलटारमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच एक्लाएक्लै भएकाे भेटवार्ता भएपछि यस्तो सहमति भएको हो । यसको औपचारिक घोषणा भने भोलिसम्म हुने स्रोतले बताएको छ । 

यसअघिकाे भेटमा भट्टराईले प्रचण्डलाई मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका थिए । साे प्रस्तावमा सकारात्मक रहेको बताउँदै अध्यक्ष प्रचण्डले ‘सल्लाह गरेर निष्कर्षमा पुगौँला’ भनेका थिए । 

हालै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएर नेसपा बनाएका भट्टराईलाई आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहज छैन । त्यसकारण पनि उनले गठबन्धनका लागि राजनीतिक भेटवार्ता अघि बढाएका छन् ।

भट्टराईले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर पाँच दलीय गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए । समाजवादीलाई पनि गठबन्धनमा ल्याउन माओवादीका अध्यक्ष प्रचण्ड सहमत भैसकेका छन् । यो सहमति जुटे  नेसपा सत्ता गठबन्धनको छैटौं घटक हुनेछ । 

प्रतिक्रिया दिनुहोस