८ वर्षदेखि बन्द रहेको माली मिसनमा सशस्त्र प्रहरीले १४० जना खटाउने

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १४ : १४
८ वर्षदेखि बन्द रहेको माली मिसनमा सशस्त्र प्रहरीले १४० जना खटाउने

काठमाडौं   संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनाका लागि सशस्त्र प्रहरी बलको टोलीलाई खटाउने तयारी भइरहेको छ ।

सन् २०२३ को जनवरीमा नै फौज कार्यक्षेत्रमा खटाउने गरी सशस्त्रले तयारी अघि बढाएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विदुर खड्काले बताए । ‘शान्ति स्थापनाका लागि मालीमा मिसन खटाउने तयारी भइरहेको छ,’ प्रवक्ता खड्काले लोकान्तरसँग भने,‘आगामी जनवरीदेखि टोली खटिने छ ।’

शान्ति मिसनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी घटिरहेको परिस्थितिमा सशस्त्र प्रहरीले मालीमा ‘फर्म्ड पुलिस युनिट’ (एफपीयू) खटाउने भएको हो । सशस्त्र प्रहरीको अहिले एफपीयू साउथ सुडानमा खटिरहेको छ । ८ वर्ष अगाडि सशस्त्रको लाइबेरिया मिसन बन्द भएको थियो । 

मालीमा नेपाली सेनाको इन्जिनियरिङ बटालियनसमेत तैनाथ छ । मालीमा फौज खटाउनको लागि तयारी अवस्थामा रहन राष्ट्रसंघले सशस्त्र प्रहरी मुख्यालयलाई पत्रसमेत पठाइसकेको डीआईजी खड्काले जानकारी दिए । सशस्त्रको एफपीयू मालीको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण किदाल क्षेत्रमा खटाउने तयारी छ । यूएन मिसनमा सशस्त्र प्रहरीको सहभागिता बढाउन लामो समयदेखि नेतृत्वले लविङ गरिरहेको थियो । माली मिसनमा १४० जनाको एफपीयू खटाउने तयारी भएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

यूएन मिसनमा योगदानको हिसाबले नेपाल विश्वकै दोस्रो स्थानमा छ । जसमा  नेपाली सेनाबाट मात्र ठूलो संख्यामा फौज परिचालित छन् । शान्ति मिसनमा सहभागिताको कारण नै सुरक्षा संगठनमा जागिरको आकर्षण बढ्ने गरेको छ । 

पछिल्लो समय सशस्त्र र नेपाल प्रहरीको मिसनमा सहभागिता कम भएकै कारण जागिरप्रति आकर्षण घटेको प्रहरी अधिकारीहरू बताउँछन् । मिसनमा आवश्यक पर्ने बन्दोबस्तीको सामान, एपीसी र एमपीभी खरिदमा सशस्त्र र नेपाल प्रहरीमा विवाद हुने गरेको छ ।

नेपाल प्रहरी र सशस्त्रमा जुनियर प्रहरी कर्मचारी र सिनियर प्रहरी अधिकृतहरूले राजीनामा दिने संख्या बढ्दै गएपछि मिसन बढाउनका लागि दुवै संगठनले पहल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस