युवामैत्री स्थानीय शासन विस्तार गरिने

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १४ : ४१
युवामैत्री स्थानीय शासन विस्तार गरिने

काठमाडौं   लगानी र क्षमतावृद्धिसहित युवामैत्री स्थानीय शासन अभियानलाई विस्तार गरिने भएको छ । ‘युवामैत्री विश्व निर्माणमा अन्तरपुस्ता एक्यबद्धता’ नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवामैत्री स्थानीय शासनसम्बन्धी हालसम्मका उपलब्धि, सिकाइ र भावी कार्यदिशाबारे शनिवार आयोजित छलफल कार्यक्रममा सो प्रतिवद्धता जनाइएको हो । 

सो अवसरमा मुलुकको समग्र विकासमा युवामैत्री स्थानीय शासनको आवश्यकतालाई ध्यान दिएर राष्ट्रिय युवा परिषद्, जागृति बाल  तथा युवा सरोकार नेपाल, संयुक्त राष्ट्रसंघीय विकास कोष (युएनडिपी) र राष्ट्रसंघीय बालकोष (युनिसेफ) नेपालको संयुक्त प्रयासमा अभियानलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । अभियानअन्तर्गत तीन सयभन्दा बढी सरोकारवालाको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन क्षमता विकास निर्देशिका तयार गरिएको छ । 

युवामैत्री स्थानीय शासन प्रवद्र्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एकएक स्थानीय तहको छनोट गरी सम्बन्धित तहका जनप्रतिनिधि, कर्मचारी, विभिन्न निजी क्षेत्रका युवा प्रतिनिधि तथा युवाका सवालमा प्रमुख सरोकारवालाका लागि दिने युवामैत्री स्थानीय शासनसँग क्षमता अभिवृद्धि कार्यक्रम गरिएको थियो । प्रदेशस्तरमा भएको उक्त अनुभवलाई विस्तार गर्न वक्ताले आग्रह गरेका थिए । 

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको मुद्दाका दृष्टिकोणले मैत्रीपूर्ण बनाउने अहिलेको सान्दर्भिक सवाल रहेको र नीति निर्माण प्रक्रियामा युवाको सहभागिता अत्यावश्यक रहेको बताए । हालको प्रयास कम रहेको र अझ बढी लगानी तथा  योगदानको आवश्यकता रहेको उल्लेख गर्दै उपाध्यक्ष बस्नेतले उपयुक्त वातावरण निमार्णका लागि परिषद्ले कार्य गरिरहेको र संवैधानिक तथा नीतिगत युवासँग सम्बन्धित व्यवस्थालाई कार्यान्वयनका साथ युवामैत्री शासन प्रवद्र्धनका लागि निरन्तर समन्वयको प्रतिबद्धता जाहेर गरे । 

युएनडिपीका आवसीय प्रतिनिधि आइसानी लाभेले युवामा धेरै समस्या उत्पन्न भएका वितृष्णा उत्पन्न हुने भएकाले त्यस्ता समस्या परेको बेलामा सुनिदिने स्थान (निकाय) हुने वातावरण निर्माण गर्न आग्रह गरिन् । युनिसेफका आवसीय उपप्रतिनिधि उषा मिश्रले नेपालमा केही वर्षपछि ज्येष्ठ नागरिकको संख्या धेरै हुने भएकाले वर्तमान समयमा युवा तथा बालबालिकामा बृहत् लगानीको आवश्यकता रहेको बताइन् । 

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले युवामैत्री अभियानमा सबै युवासँग सम्बन्धित सरोकारवालाले योगदान पुर्‍याउनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस