काठमाडौं । महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको दुई करोड ५५ लाखभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसीयु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो । दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आइसियु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो ।
कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आइसीयु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले अढाई करोड बढीका ती उपकरणहरू प्रयोग गर्न नसकेकामा विगत दुई वर्षदेखि नै ती सामग्रीहरू प्रयोगविहीन बनेको हो ।
स्थानीय बासिन्दाले त्यसबेला केही नेता र तीनका कार्यकर्ताहरूलाई कमिसन र कमाईका लागि ती उपकरणहरू किनिएको आरोप लगाए । उनीहरूले जनशक्ति नै थिएन भने ती उपकरणहरू किन किनियो ? भनी प्रश्न गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ साउन २०७९, १४ : ३८
लेखकबाट थप