खानेकुराको श्रोत पहिचान गर्न नसक्दा स्वास्थ्य समस्या जटिल बन्दैछन् : महानायक हमाल

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १५ : २७
खानेकुराको श्रोत पहिचान गर्न नसक्दा स्वास्थ्य समस्या जटिल बन्दैछन् : महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले खानेकुराको श्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै शतर्कता अपनाउन आग्रह गरेका छन् । बिहीबार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महानायक हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताए । उनले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लताकपडाहरु भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्यवद्र्धक हुने बताए । महानायक हमालले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा वहकिन थालेको बताए ।

उनले कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा नलाग्न सचेत गराए । महानायक हमालले स्वास्थ्यमा खतरा भइसक्दा समेत कोही पनि नेपालीहरु सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासंले यसमा पहलकदमी थाल्नुपर्ने बताए । उनले मानिसहरु बिरामी हुँदा आश्चर्य हुनुपर्ने ठाउँमा कसरी स्वस्थ भयो भन्ने बारेमा आश्चर्य हुने गरेको बताए ।

उनले मानिसले खाने सामग्रीहरु फ्याक्ट्रीबाट नभइ जमिनबाट उत्पादन हुनुपर्ने र त्यसैले मानव स्वास्थ्यको हीत गर्ने बताए । उनले भने, ‘हामीलाई कसरी प्रयोग गर्ने भन्ने बनाइरहन्छन् र हामी हाम्रो बारेमा नै बिर्सिन्छौँ । हामीसँग जतिपनि उत्पादन गर्ने संयन्त्रहरु छ । तिनीहरु कन्जुमरले गर्दा चल्ने हो । तर त्यो शक्ति हामीले बिर्सिरहेका हुन्छौँ । हामी आधुनिकतामा वहिकएका छौँ । हामी चाहे उनीहरुको विज्ञापनमा, लालचीमा, आकर्षित प्याकेजिङमा होस्, चाहे आधुनिकताको नाममा होस् हामी वहकिएका छौँ । हामी आधुनिकताको नाममा यसरी वहकिएका छौँ कि, हामीले उपभोक्ताको हिसावले के गर्नुपर्छ भन्ने कुरा नै बिर्सिसक्यौँ ।’

उनले फेरि भने, ‘आफ्नो शक्ति के हो हामीलाई नै थाहा छैन । त्यसलाई पनि हामीले बिर्सिएर दाउमा राखेका छौँ । हामीले प्रयोग गर्ने सामानहरु कस्तो प्रयोग गरिरहेका छौँ । हामी विज्ञापनमा लागेर गरिरहेका छौँ कि, अहिलेको सामाजिक सञ्जालका कारण वहकिएका छौँ ? त्यो खानेकुरा वा लगाउने कुरा नै किन नहोस् । हामीले उपभोक्तको हक, अधिकार र पावरलाई नबुझिकन जथाभावि खरिद गरिरहेका छौँ । हामीले खर्च गरेको रकम कस्तो सामग्रीमा खर्च गरिरहेका छौँ त्यसमा सावधानी अपनाउन आवश्यक छ । हामीले प्रयोग गरेको वस्तु गुणस्तर छ कि छैन भन्ने कुराको ध्यान दिनु आवश्यक छ ।’

उनले थप भने, ‘आजको स्थितिमा खतराको घण्टी नै बजिसकेको छ तर हामी अझै सचेत हुन सकेका छैनौँ । मान्छे बिरामी भयो भनेर आश्चर्य हनुको ठाउँमा कसरी स्वस्थथ भइरहेको छ भनेर आश्चर्यमा परेको छ । हामी खानेकुराको गुणस्तर पहिचान गर्न सकिरहेका छैनौँ । स्वास्थ्यमा सचेत हुन सकेका छैनौँ । स्थानीय उत्पादित खानेकुरालाई जोड दिनुपर्छ । मान्छेले खानेकुरा नि फ्याक्ट्रीबाट उत्पादन गर्ने हो र मान्छेले खानेचिज त जमिनबाट उत्पादन गर्नुपर्छ ।’

उनले बाहिरी आवरणलाई हेरेर नभइ सामग्रीको गुणस्तर र स्वास्थ्यका लागि लाभदायी कुराहरुको मात्रै प्रयोग गर्न आवश्यक रहेको बताए । प्याकेजिङका फूडहरु स्वास्थ्यलाई मध्यनजर नगरी स्वाद र व्यापारलाई मध्यनजर गरेर राखिएको हुने भन्दै त्यसतफै सचेत रहन पनि आग्रह गरे । उनलै स्थानीय उत्पादनलाई विशेष जोड दिएर गुणस्तरहीन खानेकुरा र लगाउने कपडाहरुको बहिष्कार गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस