नेपाली फुटबलकै पहिलो फ्रेन्चाइज लिग एनएसएलबारे निर्णय गर्न कमिटी गठन

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १४ : ५०
नेपाली फुटबलकै पहिलो फ्रेन्चाइज लिग एनएसएलबारे निर्णय गर्न कमिटी गठन

काठमाडौं  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलकै पहिलो फ्रेन्चाइज लिग (एनएसएल)बारे निर्णय गर्न कमिटी गठन गरेको छ।एन्फाको बिहीबार बसेको दोस्रो कार्यसमिति बैठकले अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरेको हो।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार कमिटीको सदस्यमा उपाध्यक्ष दीपक खतिवडा, कुमार केसी र सदस्यहरू टिका लामा, मनिराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा रहेका छन्।

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एनएसएल सुरू भएको थियो। शेर्पाकै कार्यकालमा एनएसएलमा खेलाडी आबद्ध हुन क्लबलाई जानकारी नदिइ नै फ्रेन्चाइज टोलीमा गएको भन्दै ‘ए’ डिभिजनका थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी)ले विरोध गरेका थिए।

शेर्पाको कार्यकालमा पनि एनएसएल सम्बन्धमा छलफल भएको थियो। त्यसबेला एन्फाका पदाधिकारी चुनावी माहोलमा होमिँदा एनएसएल विवाद त्यतिकै रहन पुग्यो। 

असन्तुष्ट चार क्लब नेम्वाङ नजिककै मानिन्छन्। ६ असारमा सम्पन्न निर्वाचनमा शेर्पालाई नेम्वाङले हराउन चारै क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। एन्फामा आफ्नै पक्षधरका पदाधिकारी आएपछि एनएसएलको विवादबारे छलफल भएको हो।

यी ४ क्लबले एनएसएलसँगको सम्झौता रद्दका लागि एन्फासँग माग गरेका थिए। एन्फाले सम्झौता रद्द गर्नका लागि कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरिसकेको छ।अघिल्लो कार्यसमितिले एनएसएल आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीलाई भदौ २५ देखि कात्तिक ५ गतेसम्म दोस्रो संस्करण आयोजनाको स्वीकृति दिएको थियो।

प्रतिक्रिया दिनुहोस