छानबिनको दायरामा आएन मुगुमा हराएको नुन

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, १४ : ४०
छानबिनको दायरामा आएन मुगुमा हराएको नुन

काठमाडौं  । मुगुका लागि सरकारी ढुवानी अनुदानको १ सय ५९ क्विन्टल हराएको नुन अझै छानबिनको दायरामा आएको छैन । जिल्ला प्रशासन कार्यालय, साल्ट ट्रेडिङ डिपो कार्यालय मुगु र डिपो कार्यालय नेपालगञ्ज एकअर्कालाई देखाएर हराएको नुन खोज्नबाट पन्छिरहेका छन् । 

१५ साउनमा गमगढी डिपोमा नुन नभेटिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशन भएका थिए । नुन हराएको विषयमा मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले ठेकेदारले १ सय ५९ क्विन्टल नुन नल्याएको बताएका थिए । उनले ठेकेदारबाट अपुग नुन बराबरको रकम धरौटीबाट असुल गरिने जानकारी दिएका थिए । तर, घटना बाहिरिएको दुई साता बितिसक्दा समेत नुन बराबरको रकम भने ठेकेदारबाट असुल गरिएको छैन । 

१५ साउनमा ठेकेदारको धरौटीबाट असुल गरिने बताएका प्रमुख जिल्ला अधिकारी महत यतिबेला भने नेपालगञ्ज डिपोका प्रमुखलाई असुल गर्न अनुरोध गरेको बताउँछन् । यता नेपालगञ्ज डिपोका प्रमुख मनोज चौधरीले हराएको नुन बराबरको रकम ठेकेदारको धरौटीबाट अझै असुल उपर नगरेको बताए । ठेकेदारको पैसा रोक्का गरिएको तर असुल उपर भने नगरेको डिपो प्रमुख चौधरीको भनाइ छ ।

‘हामीले ठेकेदार कम्पनीको धरौटी रोक्का गरेका छौँ । असुल उपर गर्नका लागि साल्ट ट्रेडिङको केन्द्रीय कार्यालयमा जानकारी गराएका छौँ,’ चौधरीले भने । केन्द्रीय कार्यालयमा लिखित पत्राचार गर्नु भएको हो भन्ने प्रश्नमा डिपो प्रमुख चौधरीले फोनबाट मात्रै जानकारी गराएको बताउँछन् । 

यता नुन ढुवानीको ठेक्का पाएको रारा छायानाथ एयर कार्गो एण्ड ढुवानीका सञ्चालक रामचन्द्र भाम भने आफूलाई अन्याय भएको बताउँछन् । घटनाको निष्पक्ष छानविन नै नगरी प्रशासनले एकोहोरो निर्णय गर्न खोजेको उनको भनाइ छ । आफूले इमानदारीतापूर्वक सबै नुन ढुवानी गरेकोले ढुवानीबाफतको सबै रकम पाउनुपर्ने व्यवसायी भामको माग छ । 

‘प्रमुख जिल्ला अधिकारी ज्यूले स्वतन्त्र छानबिन समिति गठन गरेर अनुसन्धान गर्छन् भन्ने अपेक्षा थियो । तर, एकोहोरो नुन नै नपुगेको निश्कर्ष निकालेर धरौटी रोक्का गरिएको छ । यो निर्णयमा मेरो सहमति छैन,’ उनले भने, ‘मेरो धरौटीबाट एकलौटी रकम काटिए न्यायका लागि म जहाँसुकै जान पनि तयार छु ।’

यता ढुवानीको जिम्मा पाएको कम्पनी स्रोतले नेपालगञ्ज डिपो कार्यालय प्रमुखबाट घटना मिलाउन केही आश्वासन आएको जानकारी दिएको छ । नुन ढुवानी गर्ने कम्पनीलाई एक महिना मौन बसे घटना मिलाएर धरौटीबाफत रोक्का गरिएको रकम फिर्ता गरिदिने आश्वासन आएको स्रोत बताउँछ । 

गत आर्थिक वर्ष २०७८/७९ मा गमगढी डिपोका लागि रारा छायानाथ एयर कार्गो एन्ड ढुवानी सेवाले २ हजार ७ सय क्विन्टल नुन ढुवानीको जिम्मा लिएको थियो । नागरिक समाज मुगुका संयोजक रूपबहादुर मल्लका अनुसार जिल्लामा सहुलियत दरमा आएको नुन हिनामिना हुनबाट रोक्न यथासक्दो छिटो छानबिन र अनुसन्धान गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस