-गोविन्द अधिकारी
चुनावको परिणाम नआउँदै पनि नेपाली कांग्रेसको सामु दुईवटा मात्रै विकल्प थिए । पहिलो, अहिले जसरी चलेको छ त्यसरी नै चल्ने । अर्थात्, अहिलेको नेता, नीति, संरचना र कार्यशैली सबै यथावत् राखेर समय पर्खने । दोस्रो, समयअनुसार नेता, नीति, रणनीति, संरचना र कार्यशैली सबैमा परिवर्तन गरेर अगाडि बढ्ने ।
सजिलो यथास्थितिमा हुन्छ । तालमेल, जोडतोड, चलखेल गरेर सकेसम्म सत्तामा टाँसिने । सिद्धान्त र आदर्शको पछि लाग्न सजिलो हुँदैन । व्यवहारवादीहरू सिद्धान्तलार्इ धेरै महत्त्व दिँदैनन् । चिनियाँ नेता देङ सियाओपिङले भनेजस्तै उनीहरूलाई बिरालाको रंगसँग मतलब हुँदैन । त्यसले मुसा मारे पुग्छ । नेपाली कांग्रेस मूलतः व्यवहार र आदर्शका बीचमा कहिले यता कहिले उता गर्दै आयो । पछिल्ला दिनमा सिद्धान्त गौण भएको थियो । व्यवहारवादले जितेको कांग्रेस यथार्थमा ’तर्बुजा’ बन्न पुगेको थियो ।
भारतको बंगाल प्रदेशकी मुख्यमन्त्री ममता बनर्जीले कलकत्ते कांग्रेसाई ’तर्बुजा कांग्रेस’ भन्थिन् । उनको कथनको अर्थ थियो बंगालमा कम्युनिस्टहरूको राज भएका बेला कांग्रेसहरू पनि कम्युनिस्ट जस्तै भएका थिए । तर्बुजा बाहिर हरियो देखिए पनि भित्र रातो हुन्छ नि हो त्यस्तै । भारतीय राष्ट्रिय कांग्रेस छाडेर ममताले बंगालमा तृणमूल कांग्रेस बनाइन् । पश्चिम बंगालमा तीन दशक राज गरेका कम्युनिस्टहरूलाई सत्ताबाट हटाउन सफल भइन् ।) पूरै तर्बुजा भएपछि कांग्रेसलाई जनताले रुचाएनन् । कम्युनिस्टहरू विफल हुन्छन् र पालो आइहाल्छ भन्ने ठान्ने हो भने नेपाली कांग्रेसमा कुनै पनि प्रकारको सुधार आवश्यक छैन । अहिलेकै रूप र शैलीमा अडिए हुन्छ ।
समय भने त्यति दयालु हुँदैन । ओरालो लागेपछि नेपाली समाजमा त मृगलाई बाच्छाले पनि खेद्छ । कांग्रेस कसरी अपवाद होला र ? अझै पनि कांग्रेसको जनाधार छ । समानुपातिकमा आएको मत यसैको उदाहरण हो । यथास्थितिमा जनाधार जोगिन सक्तैन । राजनीति गर्ने हो भने त जनाधार जोगाउनेमात्र हैन बढाउने रणनीति अपनाउनुपर्ने हो । यसैले सान्दर्भिक भइरहने हो भने नेपाली कांग्रेसको विनिर्माण अपरिहार्य देखिन्छ । अहिलेका शीर्ष नेताले छाड्दैमा समस्या सकिँदैन । यद्यपि, विनिर्माणको पहिलो पाइला त्यही हुनुपर्छ । तर, अब पात्रभन्दा पनि प्रवृत्तिमा परिवर्तन जरुरी छ । विशेष महाधिवेशन बोलाउने, सभापति हटाउने सबै कर्मकाण्ड गरे पनि वा सभापति शेरबहादुर देउवा आफैँ हटे पनि कांग्रेसले पुनर्जीवन पाउने हैन । नेपाली कांग्रेसलाई लिपपोत, रेट्रोफिट गरेर काम चलाउने प्रयास गर्नु यसको सान्दर्भिकता छोट्याउनुमात्रै हुनेछ ।
के हो विनिर्माण ?
विनिर्माण इन्जिनियरिङको शब्द हो तर साहित्यमा बढी प्रयोग भएको । शास्त्रीय माथापच्चीमा नलागी उही सामग्री प्रयोग गरेर नयाँ तर उस्तै संरचना तयार गर्नुलाई विनिर्माण भनेर बुझ्दा सजिलो हुन्छ । राजनीतिक सन्दर्भमा उही सिद्धान्त र कार्यकर्ताबाट नयाँ संरचना र शैलीको शक्ति निर्माण गर्नु विनिर्माण हो भन्न सकिएला । नेपाली कांग्रेसका हकमा लोकतन्त्रमा विश्वास गर्र्नेहरूलाई समेटेर पार्टीलाई नयाँ गति र रूप दिनु विनिर्माण हो । यसका लागि कांग्रेसको संरचना भत्काउनु पर्छ । नीति र रणनीतिमा परिवर्तन गर्नुपर्छ ।
संरचना किन भत्काउने ?
नेपाली कांग्रेसको अहिलेको संरचना र विधान उदार लोकतान्त्रिक पार्टीको जस्तो छैन । कम्युनिस्टहरूको जस्तो सामूहिक नेतृत्व शैलीको विधान छ । जनाधारित (मास बेस्ड) पार्टीमा नेतृत्व विकासका लागि तालिम लिएर वर्षौं पर्खने परम्परा हुँदैन । कुनै पनि नयाँ सोच भएको नेता नेतृत्वमा जान २० वर्ष पर्खन सक्तैन । नेपाली कांग्रेसकै जस्तो विधान हुन्थ्यो भने टोनी ब्लेयर वा बाराक ओबामा कहिल्यै नेतृत्वमा पुग्ने थिएनन् । यसैले नयाँ विचार लिएर आउने नयाँ व्यक्ति पनि नेतृत्वमा पुग्नसक्ने बाटो विधानमै खोल्नुपर्छ । अर्थात्, संरचनागत परिवर्तन विधानबाटै सुरु गर्नुपर्छ । विधान संशोधन हैन फेर्नुपर्छ । अनिमात्र विनिर्माण सुरु हुन्छ ।
नीतिगत विनिर्माण
कांग्रेसले सन् १९९० को दशकमा पञ्चायत कालमै थालिएको आर्थिक उदारीकरणको नीतिलाई निरन्तरता दियो । त्यतिसम्म ठीकै थियो तर पछि सबै नीति आर्थिक उदारीकरण र खुला बजारकै सेरोफेरोमा केन्द्रित गरियो । मूलतः शिक्षा र स्वास्थ्यमा बजारको प्रभुत्वलाई नीतिगतरूपमै स्वीकार गर्यो । नेपालको अर्थतन्त्र र कांग्रेसकै पनि मेरुदण्ड साना किसान हुन् । सजिलो भन्सार अर्थतन्त्रलाई प्रोत्साहन गर्दा उपभोक्तावादको मारमा अर्थतन्त्र र किसान परेका छन् । भन्सार हैन अन्तःशुकबाट अर्थतन्त्रको आकार बढाउने नीति नलिउन्जेल आर्थिकरूपमा आत्मनिर्भर हुन सकिँदैन । आत्मनिर्भरताविना स्वतन्त्रता भ्रममात्र हो । यसैले आर्थिक र सामाजिक दुवै क्षेत्रमा अपनाएको नीति बदलेर पुनर्विचार गर्नुपर्छ ।
रणनीतिक विनिर्माण
अहिलेसम्म कांग्रेसमा नेताहरूको समूहे निर्णय गर्ने र कार्यकर्ताले त्यही बोक्ने परिपाटी छ । कम्युनिस्ट पार्टीमा जनताका नाममा पार्टीले, पार्टीका नाममा नेताले निर्णय गर्ने परिपाटी हुन्छ । नेपाली कांग्रेसका नेताहरूको जनतासँग संवाद टुटेको छ । यसमा परिवर्तन जरुरी हुन्छ । जनताको भावना कार्यकर्ताले बुझ्ने, कार्यकर्ताले आआफ्ना तह हुँदै केन्द्रसम्म पुर्याउने र केन्द्रीय नेताहरूले त्यसलाई सैद्धान्तिक तथा व्यावहारिक रूप दिने कार्यशैली अपनाउनु पर्छ । यसैगरी सत्ताका लागि जोसँग पनि मिल्ने र जे पनि गर्ने चरम व्यवहारवादी शैली अपनाएका बेला कांग्रेसलाई जनताले पन्छाएका छन् ।
माओवादीलाई बढी नै काँधमा बोक्ता २०६४ को चुनाव हारेको र सुशील कोइरालाले माओवादीप्रति कठोर नीति लिएका बेला २०७० को निर्वाचनमा पहिलो दल भएको कांग्रेसका नेताहरूले कहिल्यै हेक्का राखेनन् । अर्थात्, कांग्रेस तर्बुजा भएको जनतालाई मन नपर्ने रहेछ । यसैले आदर्श र सिद्धान्तमा सम्झौता नगर्ने अलिकति कट्टरता रणनीति कांग्रेसलाई फाप्दोरहेछ ।
धेरै अलमल भए नेपाली कांग्रेसले २०१५ सालको विधान र नीतिमा सामयिक सुधारमात्र गरेर पनि तत्कालका लागि काम चलाउन सक्छ । तर, अहिलेको विधान, नीति र रणनीति नफेरी कांग्रेस उँभो लाग्ने लक्षण देखिँदैन ।
नेतृत्व परिवर्तनदेखि नीतिगत सुधारसम्ममा खुला छलफल गर्न कांग्रेसका नेता कार्यकर्ता तयार होलान् त ?
प्रतिक्रिया दिनुहोस