रकम असुलेको आरोपमा एक महिला पक्राउ

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १४ : ५१
रकम असुलेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । मोरङ प्रहरीको हिरासतमा रहेकालाई रिहा गरिदिने भन्दै रकम लिएको आरोपमा एक महिला पक्राउ परेकी छन्।

विराटनगरमा नक्कली युरेनियम प्रकरणमा पक्राउ परेका व्यक्तिलाई रिहा गरिदिने प्रलोभनमा आफन्तसँग रकम असुलेको आरोपमा सर्लाहीकी ३० वर्षीया प्रमिला यादवलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार सर्लाही कविलासपुर नगरपालिकाकी यादवले मकवानपुरस्थित बागमती गाउँपालिकाका दिपक ब्लोनकी श्रीमतीसँग ७५ हजार रुपैयाँ बुझेको आरोपमा पक्राउ गरिएको हो।

युरेनियम प्रकरणमा पक्राउ परेका ३६ वर्षीय ब्लोनलाई प्रहरी हिरासतबाट छुटाइदिने नाममा यादवले सो रकम बुझेको बताइएको छ। युरेनियम प्रकरणमा पक्राउ परेका महोत्तरीका ४९ वर्षीय उमेश यादवलाई भेट्न जाने क्रममा दीपकसँग यादवको भेट भएको थियो। उमेश नाताले प्रमिलाका भिनाजु पर्ने प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रवक्ता श्रेष्ठले दीपकसँग चिनजान भएसँगै प्रमिला दिपकको परिवारसमक्ष पुगेको बताए। प्रमिलाले प्रहरीबाट छुटाउने नाममा दिपककी श्रीमतीसँग सुरुमा डेढ लाख रुपैयाँ माग गरेकी थिइन्। तर, दिपककी श्रीमतीले ठूलो रकम आफूसँग नभएको बताएपछि प्रमिलाले ७५ हजार रुपैयाँ बुझेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले प्रमिलालाई पक्राउ गर्दै अभद्र व्यवहारको मुद्दा चलाउन गत शुक्रबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।साउन पहिलो साता मोरङ प्रहरीले विराटनगरका विभिन्न दुई स्थानबाट दुई किलो नक्कली युरेनियम प्रकरणमा १५ जनालाई पक्राउ गरेको थियो।

प्रहरीले साउन १ गते विराटनगरको ट्राफिक चोकबाट १ किलो ८७ दशमलव ३ ग्रामसहित ८ जना र महानगरपालिका– ३ दूधफारम क्षेत्रबाट साउन ३ गते ९ सय ७८ दशमलव ६ ग्रामसहित ७ जनालाई पक्राउ गरेको थियो। यद्यपी, खानी तथा भूगर्भ विभागले बरामद गरिएको युरेनियम नक्कली भएको पुष्टि गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस