रेमिट्यान्सले अर्थतन्त्रमा फाइदा कम विकृती बढी भित्र्यायो : प्रचण्ड

शुक्रबार, २५ जेठ २०७५, २० : ०९
रेमिट्यान्सले  अर्थतन्त्रमा फाइदा कम विकृती बढी भित्र्यायो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष 'प्रचण्ड'ले रेमिट्यान्सले अर्थतन्त्रमा फाइदा कम र विकृती बढी भित्र्याएको बताउनु भएको छ ।
साना तथा मझौंला व्यवसायी महासंघको पन्धौं स्थापना दिवसको उद्घाटन गर्दै प्रचण्डले रेमिट्यान्सले समाजमा विकराल समस्या निम्त्याएको बताउनु भयो । नेपाली समाजमा भित्रिएका विकृती, बिसंगती, दुःख, पिडाको मूल्यांकन गरियो भने रेमिट्यान्सले पुर्याएको फाइदाभन्दा धेरै ठूलो क्षती नेपालले भोगि रहेको प्रचण्डले बताउनु भयो ।

लाखौं युवाले अहिले विदेशमा पसिना बगाइरहेको परिस्थितिलाई अब विशेष ध्यान दिनु पर्ने समय आएको प्रचण्डले बताउनु भयो । लामो समयपछि देशले बलियो र शक्तिशाली स्थिर सरकार पाएकाले आर्थिक विकासका लागि वातावरण सिर्जना भएको बताउदै अब युवा शक्तिलाई स्वदेशमै रोक्ने वाताबरण बनाउने गरी काम गर्न सरकार लागि परेका उहाँको दाबी छ ।

अब स्थिरता, सुशान, आर्थिक विकास सबैको साझा एजेण्डा बनेको अध्यक्ष प्रचण्डले बताउनु भयो । अन्यौल र अराजकताको भूमरीमा रहेको देशमा अहिले धेरै परिर्वतन आएकोले अब सबैले आर्थिक विकासमा ध्यान दिनु पर्ने उहाँको भनाइ छ ।

कृषि, पर्यटन, उद्योग तथा रोजगारीका सम्भावनालाई उजागर गर्दै बढ्दो युवा पलायनलाई रोक्न आवश्यक रहेको प्रचण्डले बताउनु भयो ।

दुई तिहाई बढीको सरकार विकास र समृद्धिका लागि भएको प्रचण्डको भनाइ छ । यस्तै, अध्यक्ष प्रचण्डले उद्योगहरुलाई आधुनिकीकरण गरेर रोजगारका पर्याप्त अवसर सिर्जना गर्न सकिने बताउनु भयो । आर्थिक विकासको निम्ती राजनीतिक वातावरण सिर्जना भइसकेकोसमेत उहाँको दाबी छ ।

अध्यक्ष प्रचण्डले ठूला उद्योगले नेतृत्व गरे पनि जग बलियो गर्ने काम साना तथा मझौला उद्योगको नै रहेको भनाइ छ । उहाँले आर्थिक समृद्धीलाई तिव्रता दिन साना उद्योगलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस