सुरक्षाकर्मीको कडाइपछि मुख्यमन्त्रीलाई दिन लगेको सारी-चुरा सडकमै फालेर विरोध

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १६ : ५६
सुरक्षाकर्मीको कडाइपछि मुख्यमन्त्रीलाई दिन लगेको सारी-चुरा सडकमै फालेर विरोध

काठमाडौं । चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा विगत १७ दिनदेखि रिले अनसन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानकर्ताले शुक्रबार मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकारका निमित्त उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले मुख्यमन्त्री लालबाबु राउतलगायत मन्त्रीहरुलाई शुक्रबार दिउँसो सारी, चुरा र लहठी प्रदान गर्न मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले बाटो छेकेर सुरक्षामा कडाई गरेपछि सडकमै सो सामग्री फालेका छन् ।आन्दोलनकारीले मधेस प्रदेश सरकारका मन्त्रीहरुलाई सारी, ब्लाउज, चुरा, पेटीकोट बुझाउन नसकेपछि सडकमै फालेर सांकेतिक विरोध गरेका छन् ।

त्यसैगरी साउन २२ गते बच्चा आन्दोलनको घोषणा गरिएको छ । भुमिहीन सुकुम्वासीहरु घरबारविहीन रहेको र उनीहरुको बालबच्चाको भविष्य अन्धकारमा रहेको कुरा सरकारले बुझेर पनि अबुझ बनेकाले मुख्यमन्त्री कार्यालय अगाडि बच्चाहरुलाई राखेर प्रदर्शन गर्नेले बताए ।यी दुबै दिनको विरोधपश्चात पनि सरकारले कुनै चासो नदेखाए मधेस आन्दोलनभन्दा पनि ठूलो र अन्तिम आन्दोलन हुने  चेतावनी दिए ।

यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस