अर्थमन्त्रीले बजेट निर्माण गर्दा करका दर हेरफेर गर्न पाउने नीति परिमार्जन गर्नुपर्छ : मिनेन्द्र रिजाल

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १५ : ५९
अर्थमन्त्रीले बजेट निर्माण गर्दा करका दर हेरफेर गर्न पाउने नीति परिमार्जन गर्नुपर्छ : मिनेन्द्र  रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले अर्थमन्त्रीले बजेट निर्माणको क्रममा करका दर स्वतन्त्र रुपमा तलमाथि हेरफेर गर्न पाउने नीति परिमार्जन गर्नुपर्ने बताएका छन् । उनले वर्तमान अवस्थाको करका दर अर्थमन्त्रीले तल माथि दुवै हेरफेर गर्न पाउने व्यवस्था कायम रहँदा बजेटमा जे ल्याएपनि हुने अवस्था भएको जिकिर गरे ।

बिहीबार अर्थसमितिले आगामी कार्ययोजनाका विषयमा गरेको छलफलमा बोल्दै रिजालले चालु आर्थिक वर्षको बजेटमा भएको विषय मात्रै नभएर यस्तो विषयमा समितिले केही सोच्नुपर्ने बताए । उनले वर्तमान संसदीय समितिले अर्को समितिलाई काम हस्तान्तरण गर्ने प्रवृतिको अन्त्य गरी नयाँ समितिलाई सहज हुने गरी समितिले काम सक्नुपर्ने पनि बताए ।

उनले भने, ‘सरकारको बजेट साइकल कहिले हुने भन्ने विषय सोच्नुपर्छ । अघिल्लो तप्कालाई पनि थप फन्डिङ गरोस् । राजश्व र संसदीय व्यवस्थाको सिद्धान्त भन्दा बाहिर जानसक्ने कि नसक्ने भन्ने विषयमा पनि जोडिएको भन्ने लाग्छ । राजश्वका दरहरु तल मात्रै होइन माथि पनि चलाउन पाइन्छ भन्ने कानूनी व्यवस्था रही रहने हो भने कुनै पनि अर्थ मन्त्रीले राजश्वका दरहरु बारेमा जेसुकै बजेटमा लिएर आएपनि भयो । मन्त्रीले घटाउन बढाउन सक्ने सुविधा दिएको छ ।’

उनले थपे, ‘बजेटको साइकलका बारेमा समितिले सोच्नुपर्ने हुन्छ भन्ने लाग्छ । यो वर्ष करकार दरमा के भयो । यसलाई यसले रोक्छ भन्न खोजेको हैन । समितिले लामो बाटो बाट सोच्नुपर्छ । यसले अहिलको संसदले बोकेको रटान अर्को संसदलाई हस्तान्तरण गर्ने काम भएको छ । त्यो समितिले अर्को संसदलाई सहज हुनेगरी सोच्नुपर्ने हुन्छ ।’

नेता रिजालले सरकारले ल्याउने बजेट साइकलकै विषयमा पनि समितिले सोच्नुपर्ने अवस्था आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस