तनहुँ । टारी खेतबाहेक तनहुँका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ। तनहुँमा यस वर्ष ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ।
असारमा राम्रै वर्षा भएकाले टारी खेतबाहेक अन्य क्षेत्रमा रोपाइँ भएको हो। जिल्लामा सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाइँ भए पनि लामो समय बर्सात नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। यसवर्ष किसानले युरिया र डिएपी मलको प्रयोगबिना नै धान रोप्न बाध्य भएका छन्। अवैधरुपमा व्यापारीले ल्याएका मल सीमित किसानले चर्को मूल्य तिरेर भए पनि खेतमा प्रयोग गरेका थिए।
जिल्लामा मलको आपूर्ति ठप्प भएपछि वैकल्पिक उपाय अवलम्बन गर्न सुझाव दिएको केन्द्रका प्रमुख तिवारीले बताए। किसानले खेत रोप्ने समयमा मल नपाएपछि धान उत्पादनमा कमी आउन सक्ने देखिएको छ। अहिले अधिकांश किसानले उन्नत जातको बीउ प्रयोग गर्ने हुँदा रासायनिक मलको आवश्यकता पर्ने उनले बताए।
तनहुँमा गत फागुनदेखि नै युरिया मलको मौज्दात सकिएको कृषि सामग्री संस्थान दमौलीले जनाएको छ। तनहुँ र लमजुङका कृषकका लागि मल उपलब्ध गराउँदै आएको संस्थानमा डिएपी मलको मौज्दात नभएको संस्थानका प्रमुख दिनेश शर्माले जानकारी दिए।
अहिले संस्थानसँग ४५ टन पोटासबाहेक अन्य मल छैन । उनले भने,‘अन्तर्राष्ट्रिय बजारमा मल उत्पादनमा कमी आउनु र मूल्यमा अत्यधिक वृद्धि हुँदा किसान मारमा परेका छन्।’ जिल्लामा एक हजार टन युरिया र छ सय टन डिएपी मल यस मौसममा आवश्यक पर्ने सो संस्थानले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले खेत बगाएपछि कृषक चिन्तित