बीमा रकम भुक्तानी गर्न नक्कली बिहेदेखि सुनियोजित दुर्घटनासम्म, ६ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १३ साउन २०७९, १५ : २१
बीमा रकम भुक्तानी गर्न नक्कली बिहेदेखि सुनियोजित दुर्घटनासम्म, ६ जना पक्राउ

काठमाडौँ । बालुवा लोड गराउने भनी भे १० प १७२७ नम्बरको मोटरसाइकलमा गई काम सकी घर फर्किने क्रममा जिल्लाको बैजनाथ गाउँपालिका- ६ लालपुरको भित्री सडकमा उनी चढेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको मिनीबसले ठक्कर दिएको थियो।

उनलाई बाटोमा लडेको अवस्थामा स्थानीय र प्रहरीले फेला पारी कोहलपुर अस्पताल लगेका थिए। यद्यपि उनको ज्यान भने बच्न सकेन।सो घटनामा मिनीबसका चालक टोपबहादुर राना क्षेत्रीमाथि जिल्ला अदालत बाँकेमा सवारी ज्यान मुद्दा दर्ता भयो। अदालतले क्षेत्रीलाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसलासमेत सुनायो।

अदालतले उक्त घटनालाई सामान्य रूपमा लिँदै मामूली सजायमा आरोपीलाई उन्मुक्ति दियो। तर यो घटना कुनै सामान्य नभएर योजनाबद्ध भएको खुलेको छ।केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार मृतकको बीमा रकम असुलीका लागि दुर्घटना गराएर उनको हत्या गरिएको हो।

विकको मृत्युपछि उनकी पत्नी सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रुपैयाँ २०७८ साल साउन १४ गते बीमा भुक्तानी लिएकी थिइन्। भुक्तानीपछि गत पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीले विकको दुर्घटना शंकास्पद भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको थियो। ब्यूरोले सोही आधारमा गरेको अनुसन्धानबाट उक्त दुर्घटना योजनाबद्ध रहेको खुलेको बताएको छ।

प्रहरीका अनुसार बिकको जीवन बीमा २०७७ साल फागुन २८ गते गरिएको थियो र उनले इच्छाएको व्यक्तिमा पत्नी सपना मल्लको नाम उल्लेख गरेका थिए। सोही वर्षको चैत २ गते सपना र मृतकबीच विवाह दर्ता भएको देखिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताएका छन्। उनका अनुसार विवाहभन्दा अघि नै विकले इच्छाइएको व्यक्तिमा सपनाको नाम उल्लेख गरेका थिए।

प्रहरीले यस घटनामा संलग्न सपनासहित ६ जनालाई पक्राउ गरेको छ।प्रहरीले यस घटनाको मुख्य योजनाकार सञ्जिव अर्याल रहेको बताएको छ। सञ्जिवले बीमाबापत सपनाले भुक्तानी लिएको २ करोड ५० लाखभध्ये ८० लाख रुपैयाँ लिएको खुलेको महतोले बताएका छन्।

सपनाकी आमा छविकुमारी खत्रीलाई १७ लाख ४६ हजार, दिपक केसीलाई ६० लाख रुपैयाँ दिएर सपनाले ८६ लाख ८९ हजार रुपैयाँ राखेकी थिइन्।पेशा र वार्षिक आयको रकमले बीमाको शुल्क ५ लाख ४० हजार रुपैँया तिर्नसक्ने क्षमता विकको थिएन। केवाइसीमा उनको वार्षिक आम्दानी २ लाख रूपैयाँ मात्र भएको स्व:घोषणा गरेका थिए। वार्षिक आम्दानीको अधिकतम ४० प्रतिशत मात्रै बीमा गर्न सकिने प्रावधान नाघेर विकको बिमा गराइएको पाइएको छ प्रहरीले जनाएको छ। मृतकको प्राथमिक बिमा शूल्क ५ लाख ४० हजारसमेत सञ्जिवले नै तिरिदिएका थिए।

श्रीमान्-श्रीमती भनिएका मृतक र सपना आपसी सम्पर्कमै नरहेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ। बीमा गराउने सञ्जिब र सपनाबीच भने घटना अगाडिदेखि पैसा बाँडफाडको समयसम्म निरन्तर सम्पर्क भएको र दुर्घटनामा बीमा अभिकर्ता सरदार अहमद खाँको मोटरसाइकल प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ।

घटनाको दिन सञ्जीवको मृतक, सपना, सरदार अहमद र ड्राइभर टोपबहादुरसँग सम्पर्क भएको पाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार आरती भनिने ललिताकुमारी सापकोटाले सपना र सञ्जीवको भेट गराइदिएकी थिइन्। सपनालाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने कुरासमेत भएको थियो।

सपना २०७७ सालमा सीप सिक्न काठमाडौँ आएकी थिइन्। सोही वर्ष फागुन २८ गते विक र सपनाको विवाह दर्ता गर्न खोजिएको थियो। तर मृतकको उमेर नपुगेका कारण रोकिएको थियो। त्यही नै बेला सपना र बिकको पहिलो भेट भएको थियो। विवाह दर्तापछि उनीहरूको भेट नै नभएको अनुसन्धानका क्रममा खुलेको छ।

त्यति मात्र नभई उनी विकको दाहसंस्कारमा समेत उपस्थित नभएको पाइएको छ।प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ।

त्यस लगत्तै प्रहरीले ३१ बर्षीय सन्जीब अर्याल, ३२ बर्षीय सरदाम अहमद खाँ, ३३ बर्षीय टोप बहादुर राना क्षेत्री, दिपक के.सी र ललिता सापकोटा (आरती) लाई प्रकाउ गरेको छ।

 

प्रतिक्रिया दिनुहोस