अर्थमन्त्री प्रकरण

छानबिन समितिले सोधपुछ सक्यो, भोलिदेखि प्रतिवेदन लेख्न थाल्ने

सफल खबर संवाददाता

मंगलबार, १० साउन २०७९, २० : ०६
छानबिन समितिले सोधपुछ सक्यो, भोलिदेखि प्रतिवेदन लेख्न थाल्ने

काठमाडौँ । रिकभर भएको सिसिटिभी फुजेट अस्पष्ट भएपछि संसदीय छानबिन समितिले फरेन्सिक ल्याबका विज्ञसँग छलफल गरेको छ।पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले डिलिट भएको सिसिटिभी फुटेजको हार्ड डिस्क रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो।

ल्याबले दिएको रिपोर्ट मंगलबार बिहान हेरे पनि अस्पष्ट भएपछि समितिले साँझ दुई विज्ञसँग सोधपुछ गरेको थियो।५० भन्दा बढी टुक्रामा दुई-तीन सेकेण्डको मात्रै भिडियो रिकभर हुँदा व्यक्ति नचिनिने विषयमा समितिले जिज्ञासा रोखेको थियो। समितिको नेतृत्व गरेका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले भिडियो बुझिने गरी किन आएन भन्दै सामान्य सिसिटिभी फुजेट जस्तो हुन नसकको कारणबारे सोधेका थिए।

जवाफमा नेपाल प्रहरीका दुई विज्ञले एकबाट अर्को डिभाइसमा सार्दा कमजोर गुणस्तरको भिडियो आएको र यसरी आउनु नै उपलब्धि भएको जवाफ दिएको समिति स्रोतले जानकारी दियो।

योसँगै करका दर हेरफेर गर्न अनाधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको विषयमा समितिले सोधपुछ गर्ने काम सकेको सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

बैठकपछि उनले पत्रकारहरुसँग भने, ‘अब प्रतिवेदन लेखनका क्रममा केही छलफल हुन्छ। अनुसन्धान र सोधपुछ सकियो।’ समितिको बैठक बुधबार बिहान ११ बजेका लागि पुनः बोलाइएको छ।

समितिले अर्थ सचिव मधुमरासिनी, राजश्व सचिव कृष्णहरि पुस्करसहितका अर्थका उच्च अधिकारी र शर्मासँग पनि सोधपुछ गरेको छ।बिहीबारसम्म कार्यावधि रहेको समितिले अहिलेसम्म करका दर फेरफेर गर्न अनाधिकृत व्यक्ति प्रवेश गरेको विषय ठोस आधार पाउन सकेको छैन।

भोलिको बैठकमा कस्तो प्रतिवेदन दिने भन्नेबारे छलफल हुने समितिका एक सदस्यले जानकारी दिए। सँगै प्रतिवेदन लेखनको काम सुरु हुने पनि ती सदस्यले जानकारी दिए।

ती सदस्यले भने, ‘अबको बैठकमा प्रतिवेदन कस्तो लेख्ने भन्नेबारे छलफल हुन्छ।’ ती सदस्यले प्रतिवेदन नबुझाएसम्म सोधपुछ र अनुसन्धानको काम भने गर्न सकिने बताए।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थमन्त्रालयमा दुईजना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको हो।

 

प्रतिक्रिया दिनुहोस