कृषिक्षेत्रको सिन्डिकेट अन्त्य गरिन्छ : कृषिमन्त्री खनाल

बुधबार, २३ जेठ २०७५, १८ : २१
कृषिक्षेत्रको सिन्डिकेट अन्त्य गरिन्छ  : कृषिमन्त्री  खनाल

बुटवल । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेका सबैखाले एकाधिकार (सिन्डिकेट) अन्त्यका लागि पहल शुरु भएको बताउनुभएको छ ।

उहाँले कृषक र उपभोक्ताबीचमा रहेको गिरोहको अन्त्यका लागि सरकारले काम शुरु गरिसकेकाले केही दिनमै परिणाम देखिने दाबी गर्नुभयो ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश नं ५ कार्यालयले आज बुटवलमा गरेको साक्षत्कार कार्यक्रममा मन्त्री खनालले कृषियोग्य जमिनको खण्डीकरण जसरी पनि रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जग्गा प्लटिङ रोकिएको भए पनि अशंबण्डाका नाममा हुने कित्ताकाटसमेत रोक्न कडा निर्देशन दिएको उहाँले बताउनुभयो । अंशबण्डाका नाममा भएको जग्गाकारोबार रोक्न त्यस्तो निर्देशन दिएको भन्दै मन्त्री खनालले आम जनतामा नयाँ व्यवस्थाको शुरुआतमा कठिनाइ भए पनि धैर्यता राख्न आग्रह गर्नुभयो ।

कृषकका लागि हरियो कार्डको व्यवस्था गरी उचित अनुदान, ऋण तथा अन्य सुविधा सरकारले उपलब्ध गराउने भन्दै उहाँले अबको केही समयमा नतिजा आउने गरी कृषि मन्त्रालय काममा जुटेको छ भन्नुभयो ।

कृषिमन्त्रीले मल, बीउ, औजारजस्ता कृषि क्षेत्रका महत्वपूर्ण वस्तुमासमेत सिन्डिकेटको जालो रहेकाले त्यसलाई तोड्ने गरी कार्य भइरहेको बताउनुभयो ।

उहाँले समयमै कृषकलाई बीउ, मलखाद उपलब्ध गराउन नसक्नु सरकारको कमजोरी भएको स्वीकार गर्दै अब त्यो समस्या समाधान हुने बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस