रिङरोड र लिङ्करोडको काम सुरू : दाहाल

बुधबार, २३ जेठ २०७५, १५ : ५६
रिङरोड र लिङ्करोडको काम सुरू : दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरीय रिङरोड र लिङ्करोडको काम सुरू गरिएको बताउनु भएको छ । आर्थिक वर्ष २०७५/७६ को लागि योजना छनोट गर्न गणेशस्थानमा बुधबार आयोजित भरतपुर महानगरपालिका वडा नम्बर ११ को दोस्रो वडा भेलालाई सम्बोधन गर्दै प्रमुख दाहालले यस्तो बताउनु भएको हो ।
महानगर प्रमुख दाहालले योजना छनोट र विकास निर्माणका कार्यक्रममा वडावासीको भूमिका महत्वपूर्ण हुने भन्दै २९ वटै वडामा वडा भेला गरिने बताउनु भयो । वडाको आवश्यकता र महानगरको बृहत्तर विकासका लागि रणनैतिक महत्वका योजनाहरू छनोट गरी सुझाव दिन उहाँले वडावासीहरुलाई आग्रह गर्नुभयो । दाहालले सडक संजाल, ढल निकास, तटबन्धन सहितको पूर्वाधार विकासलाई महानगरले प्राथमिकतामा राखेको जानकारी गराउनु भयो ।
महानगरभित्र रहेको अव्यवस्थित बस्तीहरूको व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग परामर्श गरिरहेको बताउँदै प्रमुख दाहालले अब यो समस्याले छिट्टै निकास पाउने विश्वास व्यक्त गर्नुभयो । महानगरको दीर्घकालीन विकास गर्न वृहत गुरूयोजना निर्माणको लागि परामर्शदाता नियुक्ति गर्दै विज्ञहरूसँग छलफल गरिरहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणको क्षेत्रमा महानगरले आवश्यक बजेट विनियोजन गरी त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले चालु आर्थिक वर्षमा महानगरले पूरा समय काम गर्ने अवसर नपाए पनि सिमित समयमा थुप्रै काम गरेको बताउनु भयो । महानगर प्रमुख दाहालले १ सय ५० वटा सानाठूला बाटो कालोपत्रे सम्पन्न हुने प्रकृयामा रहेको र आगामी आर्थिक वर्षमा पनि सडकको स्तरोन्नति, कालोपत्रे र ढल निकास प्राथमिकतामा पर्ने बताउनु भयो । भरतपुर महानगरपालिकाले खाल्टोमुक्त सडक भन्ने अभियान आगामी आर्थिक वर्षबाट सुरू गर्ने उहाँले बताउनु भयो । सडकको चौडाई बिस्तार गर्ने सवालमा सम्पूर्ण नगरवासीले सहयोग र समर्थन गर्नुपर्ने उहाँको भनाइ थियो ।


नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व वडा अध्यक्ष तेजेन्द्र खड्काले जनसहभागितामा आफ्ना योजनाहरू छनोट गर्ने परिपाटी अनुकरणीय भएको भन्दै पूर्वाधार निर्माणमा भरतपुर महानगरपालिकाले केही उत्कृष्ट योजनाहरू सुरू गरेकोप्रति धन्यवाद दिनुभयो । उहाँले सुकुम्बासी बस्तीको ब्यवस्थापन र डुबानको समस्या समाधानका लागि पुंगीखोला र केरूंगा ड्रेन निर्माण गर्दै सार्वजनिक जग्गाको संरक्षण अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका यूवराज पौडेलले ठूलो भूगोल र धेरै जनसंख्या भई मुख्य बजारसँग जोडिएर पनि विकास निर्माणका क्रममा वडा पछाडि परेको धारणा व्यक्त गर्नुभयो । उहाँले अव्यवस्थित बसोबासको ब्यवस्थापन मुख्य समस्याको रूपमा रहेको बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टीका प्रकाश आचार्यले जनताको आवश्यकतालाई ध्यानमा राखेर सबै सरोकारवाला निकायसंग समन्वय गरी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।


कार्यक्रममा पूर्वजनप्रतिनिधी लिलादेवी खड्का, टोल सुधार समितिका प्रतिनिधि, आमा समूह, सरोकारवाला लगायतले वडाको विकास निर्माण र भावी योजनामा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पिउने पानी, वातावरण, आयआर्जन र रोजगारी सृजना गर्नेखालका कार्यक्रम संचालन गर्न सुझाव दिएका थिए ।
नेपाली काँग्रेसका शेरबहादुर तामाङले योजनावद्ध विकास प्रणाली लागु गरेर अगाडि बढ्नु पर्ने धारणा राख्दै विकास निर्माणका सवालमा काँग्रेसले सधै सहयोग गर्ने बताउनु भयो । नव जागृति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुस्तक गौतमले महानगरपालिकाले योजना समावेश र बजेट विनियोजन गर्दा वडाको अवस्था, आवशयकता, जनसंख्या र भूगोललाई आधार मानेर अगाडि बढाउनु पर्ने बताउनु भयो l

यसैबीच, महानगरको दोस्रो नगर परिषदको लागि योजना छनोट गर्न बुधबार नै भरतपुर महानगरपालिका वडा नम्बर १४ को वडा भेला सम्पन्न भएको छ । शिवनगरमा सम्पन्न भेलाको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले उद्घाटन गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीले महानगर दिगो र आत्मनिर्भर विकासको पक्षमा रहेको बताउँदै वडावासीको चाहना बमोजिम योजनाहरू प्राथमिकताको आधारमा सूचीकृत गरी महानगरमा सिफारिस गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष ओमप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न वडा भेलामा राजनीतिक दलका प्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी तथा सरोकारवालाहरूले आआफ्ना योजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस