गोर्खा सैनिकले खुकुरीसहित सिंगापुरमा ट्रम्प र किमको सुरक्षा गर्ने

बुधबार, २३ जेठ २०७५, १० : १५
गोर्खा सैनिकले खुकुरीसहित सिंगापुरमा ट्रम्प र किमको सुरक्षा गर्ने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको प्रस्तावित भेटवार्तामा संसारभरीको नजर अडिएको छ ।  दुबैको भेट सिंगापुरमा जून १२ मा स्थानीय समयानुसार बिहान ९ बजे हुने ह्वाइट हाउसले जानकारी दिएको छ । यो ऐतिहासिक भेटघाटका लागि तयारी पनि विशेष प्रकारले गरिँदै छ ।

तयारीको महत्वपूर्ण हिस्सा, दुबै नेताको सुरक्षा हो । ट्रम्प र किमको सुरक्षाका लागि सिंगापुर पुलिसका साथै हिम्मत र कौशलका लागि परिचित गोर्खा सैनिक तैनाथ गरिनेछ ।

विशेष मौकामा दिइन्छ जिम्मेवारीः
सिंगापुरमा भीआईपी सुरक्षाको जानकारी राख्ने कुटनीतिज्ञले रोयटर्सलाई दिएको जानकारी अनुसार दुबै नेताले आफ्ना नीजि सुरक्षा दल ल्याउनेछन्  । तर सिंगापुरको पुलिससँगै गोर्खा जवान पनि समावेश हुनेछन् जसले बैठक स्थल, सडक र होटलको सुरक्षा गर्नेछन् ।

सिंगापुरमा गोर्खा जवानको संख्या धेरै नभएपछि विशेष मौकामा गोर्खा दस्तालाई सुरक्षाको जिम्मेवारी सुम्पिइन्छ । हालै साङ्ग्रिला होटलमा सुरक्षा मुद्दामा भएको सम्मेलनको क्रममा गोर्खा जवान तैनाथ गरिएको थियो । उक्त सम्मेलनमा भारतका प्रधानमनत्री नरेन्द्र मोदी, अमेरिकी रक्षामन्त्री जिम म्याटिस र अन्य देशका नेता संलग्न थिए ।

खुकुरीसँग गोर्खा सैनिकः
सिंगापुर पुलिसमा भर्ना भएका गोर्खा सैनिकले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिनेछन् । यद्यपी, आधुनिक हतियारका बाबजुद गोर्खा सैनिकको मुख्य हतियार खुकुरी मानिन्छ ।

यो उनीहरुको पारम्परिक र रुचाइएको हतियार हो । उनीहरुको मान्यताअनुसार प्रत्येकपल्ट खुकुरीलाई म्यानबाट निकालेपछि यसले रगत बगाउनै पर्छ ।

इन्टरनेशनल इन्स्टिच्युट अफ स्ट्र्याटिजिक स्टडीज (आइआइएसएस) मा सिंगापुर सुरक्षा बलका विशेषज्ञ टिम हक्सलीले रोयटर्सलाई बताए, ‘गोर्खा सैनिक सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी हुन् र उनीहरु सम्मेलनमा सहभागी हुनेमा म निश्चित छु ।’

टीमले थपे, ‘उनीहरु अत्यधिक महत्वपूर्ण र अग्रपंक्तिको सुरक्षा बल हुन् । यस्तो प्रकारको कार्यक्रमको व्यवस्थापन गर्न गोर्खा सैनिकहरुले विशेष रुपमा तालिम पाएका हुन्छन् । ’यद्यपी, सिंगापुर पुलिसका प्रवक्ताले भने गोर्खा सैनिक ट्रम्प र किमको सुरक्षार्थ खटिनेबारे कुनै टिप्पणी गरेका छैनन् ।

सिंगापुर पुलिसमा १ हजार ८ सय गोर्खा जवान छन् जो ६ अर्धसैनिक कम्पनीका हिस्सा हुन् । टिम हक्सलीका अनुसार गोर्खा सैनिक सिंगापुर पुलिसको महत्वपूर्ण हिस्सा मानिन्छन् । उनीहरुलाई भीआइपीको सुरक्षादेखि हिंसात्मक क्रियाकलापसम्म  तैनाथ गरिन्छ ।
सिंगापुर पुलिसको वेबसाइटले उनीहरुलाई ‘कठोर, सतर्क र ढृढ’ भन्छ ।  

सिंगापुरमा गोर्खा जवानको नियुक्ति बेलायती परम्परासँग जोडिएको छ जसमा २ सय वर्षसम्म सैनिकको कुलिन रेजिन्मेन्टका लागि नेपालबाट भर्ती गरियो ।

गोर्खा सैनिकको पश्चिमसँग पहिलो सम्पर्क १९ औं शताब्दीमा भएको थियो जब ईस्ट इन्डिया कम्पनीले नेपालविरुद्ध युद्ध गरेको थियो । यद्यपी, उक्त युद्धमा नेपाल हारेको थियो तब उनीहरु गोर्खा जवानको बहादुरी र युद्धक्षमताबाट निकै प्रभावित भए ।

त्यसपछि उनीहरुले नेपालीलाई ब्रिटिश सेनामा भर्ती सुरु गरे । अब गोर्खा सैनिक ब्रिटिश, भारतीय, नेपाली सेनामा सेवा दिइरहेका छन् । उनीहरु ब्रुनई र सिंगापुरको सुरक्षाबलका पनि हिस्सा हुन् ।

विशेष स्थानमा बस्छन् गोर्खा सैनिकः
गोर्खा जवान सिंगापुरमा आफ्नो परिवासँग सुरक्षित माउन्ट वेरनन क्याम्पमा बस्छन् । यो क्षेत्रमा सिंगापुरका जनता प्रवेश गर्न पाउँदैनन् ।

गोर्खा जवान र उनीहरुका परिवारले निकै कडा नियमको पालना गर्नुपर्छ । उनीहरुका सन्तान स्थानीय स्कूलमा पढ्छन् र उनीहरुलाई स्थानीय महिलासँग विवाह गर्ने अनुमती छैन । सिंगापुरमा प्रशिक्षण लिनुअघि उनीहरुलाई १८ वा १९ वर्षमा भर्ती गरिन्छ । उनीहरुको सेवानिवृत्तको आयु ४५ वर्ष हो । -बीबीसी

प्रतिक्रिया दिनुहोस