आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

रासस

मंगलबार, ०३ साउन २०७९, २० : २५
आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले संसद्मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मंगलबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन् । 

अध्यक्ष मल्लले अर्थतन्त्रसँग जोडिएका धेरैजसो विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुने नसकेको बताए । धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्नेसम्बन्धी विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहँदा समस्या परेको उनको भनाइ छ ।

अध्यक्ष मल्लले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले सङ्घीय निर्वाचनअघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन आग्रह गरे । “मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एवं प्रतिनिधिसभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्रसँग सम्बन्धित सबै विधेयकलाई सङ्घीय निर्वाचनअघि पारित गराउन सभामुखलाई आग्रह गर्दछु”, उनले भने ।

उनले मुलुकमा व्यवस्थित ढङ्गले गाँजाको खेती गर्ने वातावरण बनाउन र उक्त गाँजा निर्यात गरेर व्यापार घाटा कम गर्न सकिने बताए । अध्यक्ष मल्लले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन सभामुखको ध्यानाकर्षण गराए । 

भेटमा सभामुख सापकोटाले संसद्मा रोकिएका विधेयक अगाडि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । “केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु, बजेटसँग सम्बन्धित विधेयकहरु करिब करिब सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु”, उनले भने । 

प्रतिक्रिया दिनुहोस