कविता : यो सहर अर्थात् काठमाडौँ

मंगलबार, २६ मंसिर २०७४, १५ : ४९
कविता :  यो सहर अर्थात् काठमाडौँ


-लक्ष्मण सिटौला   

रातभरि अनिदो निदाउँछ  
बिहान उठेपछि
एक गिलास  लोकल दन्काउँछ यो सहर
बाबुलाई देखाएर छोरा खान्छ
आमालाई वृद्धाश्रम पठाउँछ
 हजुरबाउ हजुरआमाको आँसुले
चोक पखालिन्छ यहाँ  

एक कोशमा शौच गर्ने ठाउँ छैन
तर गल्ली गल्लीमा जात जातमा उमेर उमेरमा
सौन्दर्य प्रतियोगिता हुन्छ
यहाँ धुलोले मीत लाउँछ
यहाँ सोझाले शीत पाउँछ
यहाँ गन्धले गीत गाउँछ
खाल्डाले मुख बाउँछ

पहाडका मान्छे यही आएर सहिद भएका छन् कति
रातभर चन्द्रागिरी र शिवपुरी सुरक्षागार्ड बसे पनि
दिउँसै गोली चल्छ यहाँ
साँचो कुरा भन्नुपर्दा–
तरकारीभन्दा मान्छे सस्ता छन् यो सहरमा

मिडियाको पोलुसन यही छ
कीरापरेका मासु यहीँ बिक्छन्
पहाडीहरूको भँैसीले नखाको साग यही तरा लाग्छ
कुहिएको चामलदेखि
मिल्किएका करेलादेखि कीरा परेका मासुसम्म
यहाँ हानाथापले बिक्छ

रत्नपार्कबाट भाषण सिकेर जाने पाषणहरू
फेरि यतै फर्किन्छन् चुनाव जितेर
र कुर्लिन्छन् तिनै गधा गवारहरू बेफिक्री
देश यसै गरिब भाको होइन
गरिब दिमागले गरिब बनाइदिएका हुन्

कुनैबेला रत्नपार्कको पर्खाल भत्काउने भैरे
अहिले पुनर्निर्माण मन्त्री भएको छ
हिजो रत्नपार्कमा ग्राहक खोजेर हिँडेकी चमेली
आज संस्कृति मन्त्री बनेकी छ

यो सहर मन्दिरै मन्दिरको रहेन अब
घुसखोर दल फेरिरहने दलालहरूको गोठ बनेको छ
धनीका घरको भोजमा घन्केको पपले र र्यापले
छिमेकमा डेरा लिएर बस्ने परिश्रमीको
निन्द्रा कचल्तिएको ख्याल गर्दैन यो सहर

सडकको लेन मिच्ने माइक्रो बस चालकको दादागिरी
अटेर गरेर निर्माण सामग्री सडकमा राख्ने ब्यापारी
खोई कसले तह लगाउने
पन्ध्र मिनेटको गन्तव्य पुग्न तीन घन्टा लाग्छ
खोई यो कस्तो सहर हो
रहरले बस्छन् । पछि कहर । अनि जहर
यस्तै पो छ है यो सहर ११

प्रतिक्रिया दिनुहोस