सायमीले भने, ‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ

सफल खबर संवाददाता

शनिबार, १८ असार २०७९, १५ : ०३
सायमीले भने, ‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ

काठमाडाैँ। स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरूले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्।

शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन्।दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको काठमाडौँ महानगरपालिकाका स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बनेका सुमन सायमीले बताए।

उनले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरूबीच छलफल सुरु गरिएको बताए।

सायमीले भने, ‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो। त्यहाँ बहुमतको कदर हुन्छ। एक व्यक्तिले कानुन बनाउन सक्दैन। त्यसो भएको कारण त्यसमा जाँदा दलको विकल्प दल नै हो। र, त्यसको आवश्यकता छ। दल ठिक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ। दलको विकल्प दल नै हो।’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रहरूको पनि एउटा दलको आवश्यकता छ भन्ने निष्कर्सका साथ आफू सो विशेष भेलामा सहभागी भएको स्वतन्त्र उम्मेदवार रविन्द्रकुमार श्रेष्ठले बताए।देशभरका स्थानीय तह निर्वाचनमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरू सो विशेष भेलामा सहभागी भएका छन्।

‘स्वतन्त्र उम्मेदवारी अभियान’को नाममा आयोजना गरिएको सो विशेष भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाँदा नयाँ दल बनाएर जाने निष्कर्स निकाल्ने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस