काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन्।शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा उनले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताए।
उनले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत राज्यले नभई व्यक्तिले जस लिने गरी दुरुपयोग हुने उनले बताए।मन्त्री खाँणले ७५३ वटा स्थानीय तहमध्ये ७५२ वटामा बैंक पुगेको र बाँकी एउटा स्थानीय तहमा यही असार मसान्तसम्म पुग्ने जानकारी दिए।
बैठकमा बोल्दै नेकपा (एमाले) की सांसद विमला विकले कुमारी आमाहरूलाई पनि एकल महिलाको रुपमा लिई सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताइन्। उनले कुमारी आमाहरू सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुपर्नेमा जोड दिइन्।
त्यस्तै, नेकपा (एमाले) का सांसद नवराज सिलवालले लोकप्रियताका लागि बढी सामाजिक सुरक्षा भत्ता बाँड्दा राष्ट्रले धान्न नसक्ने अवस्था आउने हो कि भन्नेतर्फ सचेत गराए। उनले श्रम गर्नसक्ने एकल महिलालाई भत्ता दिनुभन्दा आयआर्जनका काममा लाग्न राज्यले प्रेरित गर्नुपर्ने बताए।
उहाँले कुनै श्रममा तथा आयआर्जनमा नजोडिएका एकल महिलालाई मात्र भत्ता दिनुपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘जो सक्षम छ। जो एकल छ, ऊ कमाउँछ। श्रम गर्न सक्छ। पढेको छ। भनेसी उसलाई भत्ता पाएर अल्छी बनाएर राख्ने कि आर्जन गर्नका लागि, अवसरको लागि पनि प्रेरित गर्ने राज्यले। सक्षम, योग्य छ भने उसले भत्तामा बस्ने होइन कि काम गर्न थाल्ने। त्यस्ता खालका महिला अन्य कुनै श्रमको, आयआर्जनसँग नजोडिएको अवस्थाको भनेर लेखौँ।’
त्यसैगरी, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पत्ति हुने मान्छेको नाम सार्वजनिक गर्नुपर्ने बताए। धनी मान्छेको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने उनले बताए। उनले भने, ‘राज्यले धनी मान्छेको नाम प्रतिष्ठा र इज्जतको हो भनेर सार्वजनिक गराउनुपर्छ केही सम्पत्तिलाई। जसको धेरै सम्पत्ति छ, धेरै प्रतिष्ठित मान्छे हो तपार्इंहरू भनेर सम्पत्ति सार्वजनिक गराउनुप¥यो। धनीको सूची प्रकाशित गरौँ। भत्तासँगै उमेर भएका मान्छेहरूलाई सीपमूलक रोजगारी दिऊँ।’
उनले उमेर भएका मान्छेलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, १७ : ४१
लेखकबाट थप