काठमाडौँ । आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ । औपचारिकरूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीच्युरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । ।
दहीच्युराको संस्कृति
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दहीच्युरा खाएमा औषधिको काम गर्छ । यसैले दहीच्युरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत्रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा दहीच्युरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धान दिवसको अवसरमा अछामका उत्कृष्ट किसान पुरस्कृत