धान दिवसको अवसरमा अछामका उत्कृष्ट किसान पुरस्कृत

सफल खबर संवाददाता

शनिबार, १५ असार २०८१, १४ : १५
धान दिवसको अवसरमा अछामका उत्कृष्ट किसान पुरस्कृत

अछाम। अछामका उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको छ ।​​​२१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा जिल्लाका उत्कृष्ट तीन कृषकलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।

तरकारी खेतीतर्फ रामारोशन गाउँपालिका–४ का किसान भरतबहादुर विष्ट, फलफूल खेतीतर्फ मेल्लेख गाउँपालिका–६ का वीरबहादुर बोहरा र मसला बाली खेतीतर्फ तुर्माखाद गाउँपालिका–१ का नन्दराम बुढालाई सम्मान गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख जसिराम सहानीले जानकारी दिए ।

उनका अनुसार प्रतिकृषक २० हजार रुपैयाँका दरले पुरस्कृत गरिएको हो ।उत्पादित कृषि वस्तुले बजार नपाउँदा किसानमा ऊर्जा हराउँदै गएको कृषकका बुढाले बताए । गत वर्ष करिब ४० क्विन्टल किवी उत्पादन भएको भन्दै उचित मूल्य र बजार नपाउँदा ठूलो नोक्सान भएको उनले जानकारी दिए । 

कृषकले उत्पादन गरेका तरकारी, फलफूललगायत वस्तु बिग्रन नदिन जिल्लाका प्रत्येक स्थानीय तहमा ‘कोल्ड स्टोर’ निर्माण गर्नुपर्ने उनीहरूको माग छ ।विगत १२ वर्षदेखि तरकारी खेती गर्दै आएको सुनाउँदै अहिले पुरस्कृत हुँदा उत्साहित भएको कृषक विष्टले बताए ।

ठूलो क्षेत्रफलमा २९ वटा प्लास्टिक टनेलमा तरकारी खेती गरिरहेको भन्दै उनले यसरी कृषक सम्मानित हुँदा प्रोत्साहन थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस