भरतपुर महानगरमा ६७ प्रतिशत घर भूकम्प प्रतिरोधी

विहीबार, १७ जेठ २०७५, १७ : १८
भरतपुर महानगरमा ६७ प्रतिशत घर भूकम्प प्रतिरोधी

चितवन । भरतपुर महानगरपालिकामा ७५ प्रतिशत घर नक्सापास गरी निर्माण भएको र तीमध्ये ६७ प्रतिशत घर भूकम्प प्रतिरोधी बनेको बिहीबार भरतपुरमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको भूकम्प प्रतिरोधी घर सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
गृहमन्त्री रामबहादुर थापा बादल प्रमुख अतिथि रहनु भएको कार्यक्रम भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै महानगरपालिकाका इञ्जिनियर सूर्यप्रकाश लामाले भरतपुर महानगरपालिकाले आफ्नै भवन निर्माण संहिता लागु गरी अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिकामा ६७ प्रतिशत घर भूकम्प प्रतिरोधी बनेको र ७५ प्रतिशत नक्सापास हुने गरेको जानकारी गराउनु भयो ।
भरतपुर महानगरपालिकाले भूकम्प प्रतिरोधी घर बनाउने सवालमा देशकै नमुना काम गरिरहेको एनसेटले जनाएको छ । कार्यक्रममा एनसेटका प्रतिनिधिहरू, महानगरपालिकाको विभिन्न वडाका अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, राजनितिक दलका प्रतिनिधि, प्राविधिक र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

विपद् बैठक
गृहमन्त्री थापाको उपस्थितिमा जिल्ला विपद ब्यवस्थापन समितिको बैठक बसेको छ । विपद् समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा बादलले कतिपय विपद मानव सिर्जित र कतिपय विपद प्रकृतिकै कारणले हुने विचार व्यक्त गर्नुभयो । उहाँले दिगो र सुरक्षित पूर्वाधार निर्माण गरी जोखिम न्यूनीकरण गर्न सकिने बताउनु भयो । 
चितवनमा नदी र जंगली जनावरको कारणबाट हुने विपद धेरै पाइएको बताउँदै गृहमन्त्री थापाले नदी र जंगली जनावरलाई मानव सभ्यता र समृद्धिको रूपमा उपयोग गरिनुपर्ने धारणा सुनाउनु भयो । प्रकतिलाई सन्तुलित ढंगले उपयोग गर्दै यसको संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लामा हुने गरेका विपदबारे जानकारी गराउनु भएको थियो । उहाँले हावाहुरी, असिनापानी, बाढी, पहिरो, चट्याङ, आगलागी, जंगली जनावरबाट हुने जनधनको क्षति प्रमुख रहेको जानकारी गराउँदै सबै निकायमा यसको रोकथाम, नियन्त्रण, प्रभावितको उद्धार, क्षतिपूर्ती र राहतलाई प्रभावकारी बनाउनु पर्ने धारणा राख्नुभयो ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले विपद्बाट प्रभावितहरुको उद्धार र उनीहरुलाई राहतका लागि भरतपुर विमानस्थल परिसरमा वेयरहाउस निर्माणको प्रकृया सुरू भैसकेको जानकारी दिनुभयो । जोखिम नियन्त्रण, प्रभावितको उद्धार, उनीहरुलाई राहत र क्षतिपूर्ती वितरण कार्यलाई प्रभावकारी बनाउने दिशामा काम भइरहेको उहाँको भनाइ थियो ।


यसैबीच, गृहमन्त्री थापाले वडा नम्बर ४ मा रेट्रोफिटिङ गरी बनाइएको वडा कार्यलय भवनको अवलोकन गर्नु भएको छ । वडा  कार्यालय निरीक्षण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चार नम्बर वडाका अध्यक्ष हरिप्रसाद आचार्य, एनसेटका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस