बागमती प्रदेशमा सहमति

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १३ : १८
बागमती प्रदेशमा सहमति

काठमाडौँ  । अवरुद्ध हुँदै आएको  बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ। सभामुख सानुकुमार श्रेष्ठले  बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरुसँग छलफल गरी सहमति जुटाएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो।

सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। उनका अनुसार दलहरुबीच प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्ने र प्रदेशका १३ वटै जिल्लामा समानुपातिकरुपमा बजेट बाँडफाँट गर्ने विषयमा सहमति जुटेको हो।

सहमतिपछि अब नेकपा एमालेले बैठक अवरोध नगर्ने भएको छ।  प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरुपमा सम्बोधन गर्न नसकेको भन्दै संशोधनको मागसहित उक्त दलले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएको थियो।

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिए पनि अन्य जिल्लालाई नसमेटिएको भन्दै एमालेले बजेट संशोधन गरेपछि मात्रै संसद् सञ्चालन गर्न दिने अडान लिएको थियो।

प्रतिक्रिया दिनुहोस